Kathmandu Press

उठ्दैछ ऐतिहासिक नरसिंहकोट

गलकोट, ३१ असोज : जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार र पूर्वाधार निर्माणमा जोड दिएको छ। पालिकाभित्र रहेका सबै धार्मिक तथा पर्यटकीय...
उठ्दैछ ऐतिहासिक नरसिंहकोट

गलकोट, ३१ असोज : जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार र पूर्वाधार निर्माणमा जोड दिएको छ। पालिकाभित्र रहेका सबै धार्मिक तथा पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धनका लागि अभियान नै थालेको छ।

पर्यटकीय गन्तव्यको विकास गर्ने क्रममा गाउँपालिकाले ऐतिहासिक नरसिंहकोटलाई समेत प्राथमिकतामा राखेर विकास गर्न थालेको छ। तत्कालीन बाइसे चौबिसे राज्य हुँदा जिल्लाको विभिन्न ठाउँमा विभिन्न राजाले राज्य सञ्चालन गरेको पाइन्छ। यसमध्ये जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुटको नरसिंहकोटमा पनि राजाले राज्य सञ्चालन गरेको बुढापाका बताउँछन्।

भूरे राजाले राज गरेको यस स्थान अहिले निसीखोला गाउँपालिकाको धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ। तत्कालीन अवस्थामा भुरे राजाले दरबार बनाएर करिब ७÷८ वर्ष राज गरेको स्थानीयवासी ८३ वर्षीय टीकाबहादुर कुँवर बताउँछन्। त्यस क्षेत्रमा राजाले आफू बस्ने दरबार, पौवाहरु निर्माण गरेको र विस्थापित भएपछि दरबार र पौवाहरु जीर्ण भएर भत्किएको उनले बताए। दरबार तथा पौवा निर्माण भएको स्थानमा केही वर्ष अगाडिसम्म भग्नावशेष भेटिने गरेको स्थानीयवासी बताउँछन्।

Hardik ivf

नरसिंहकोट र राजकुटको अर्थ बेग्ला–बेग्लै भएको स्थानीयवासी बताउँछन्। ‘राजकुट’ तत्कालीन बाइसे चौबिसे राज्य हुँदा भुरे राजाले बसोबास गरेको हुँदा ‘राजकोट’ भन्ने गरिएको र अहिले आएर ‘राजकोट’लाई राजकुट भन्ने गरिएको उनको भनाइ छ।

यस्तै ‘नरसिंहकोट’ राजाले पूजा गर्ने नरसिंह देवताको नामबाट नामाकरण हुन पगेको कुँवरको भनाइ छ। तत्कालीन समयमा भुरे राजा र प्यूठानी राजाबीच युद्ध भएको र प्यूठानी राजले भुरे राजाको वंश नाश गरी दिएको र उनका सयौँ सिपाहीहरुको युद्धमा ज्यान गएको स्थानीयवासी कुँवरको दाबी छ।

उनले प्यूठानी राजाले भुरे राजाका धेरै सिपाहीलाई भिरबाट खसालेर मारेको र राजाको वंश नाश गरिदिएपछि उनीहरुको स्मृतिमा हालको नरसिंहकोटमा नरसिंह मन्दिर निर्माण गरिएको बताए। उनै राजाले पुज्दै आएको ‘नरसिंह’ देवताको व्यवस्थापनका लागि मन्दिर स्थापना गरिएको हो।

नरसिंहकोटमा अहिले पनि मन्दिर छ। जहाँ हरेक वर्षको नवदुर्गाको दिन धुमधामका साथ पूजाआजा गरिन्छ भने पशुपक्षीको बलि पनि चढाइने गरिन्छ। मन्दिरमा वैशाखे पूर्णिमा, मङ्सिरे पूर्णिमालगायत चतुर्दशी पूर्णिमामा सोत पूजाआजा हुने गर्दछ। यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। बागलुङ, प्यूठान, गुल्मी लगायतका विभिन्न स्थानबाट मानिस पूजाआजा गर्न पुग्ने गर्दछन्।

केही वर्ष अगाडिसम्म उक्त स्थानमा भुरे राजाको दरबारका भग्नावशेष भेटिने गरेको कुँवर बताउँछन्। अहिले उक्त भग्नावशेष हराउँदै गएको हुँदा फेला पार्न नसकिने स्थानीयवासी बताउँछन्। राजाले राज गरेको क्षेत्रमध्ये हाल करिब १०० रोपनी गुठीको जग्गा रहेको छ। त्यसमध्ये केही खेत र केही बाँझो जमिन बताइएको छ। ‘नरसिंहकोट’ क्षेत्र अत्यन्तै रमणीय छ। त्यस क्षेत्रमा मन्दिर र राजाले निर्माण गरेको मौलो (पोखरीको बीचमा रहने वस्तु) समेत छ।

राजा विस्थापित भएपश्चात् निर्माण गरिएको नरसिंहकोट मन्दिरलाई गाउँपालिकाले संरक्षण तथा व्यवस्थापन गरेको छ। राजकुटमा पर्ने नरसिंहकोट गाउँपालिकाको नमूना पर्यटकीय गन्तव्यका रुपमा परिचत छ। यो पहाडीको टुप्पोमा समथर भू–भागमा फैलिएको छ। जसले धेरै पर्यटकको मन लोभ्याउने गरेको छ। यहाँ आउने जोे कोही यहाँबाट देखिने मनोरम दृश्यले मोहित हुने गर्दछन्। यहाँबाट बुर्तिबाङ बजार स्पष्ट रुपमा अवलोकन गर्न सकिन्छ भने बागलुङको विभिन्न स्थान, म्याग्दी, प्यूठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाहरु देख्न सकिन्छ भने धौलागिरि हिमाललगायत दर्जनौँ हिमशृङ्खलाहरु र उच्च मनोरम पहाडी भेगहरुको अवलोकन गर्न सकिन्छ।

पछिल्लो समय आन्तरिक पर्यटकहरु समेत बढ्दै गएको र भौतिक पूर्वाधार निर्माणलाई पनि थप व्यवस्थित र पर्यटन मैत्री बनाउन थालेको निसीखोला गाउँपालिका–७ का वडाध्यक्ष तेजेन्द्रविक्रम कुँवरले (नहकुल) जानकारी दिए। उनले बुर्तिबाङ बजारको नजिक पर्ने हुँदा आन्तरिक पर्यटक भित्र्याउन सहज भएको बताए।

नरसिंहकोट क्षेत्रमा पुग्नका लागि बुर्तिबाङ बजारबाट गाडीमा एक घण्टामा पुग्न सकिन्छ पैदल यात्रामा साढे एक घण्टामा पुग्न सकिन्छ। त्यहाँसम्म पुग्ने सडक सालजण्डी–ढोरपाटन सडकबाहेक अर्को वैकल्पिक सडक नहुँदा सवारी साधानमा जाँदा केही फेरो पर्छ।

बुर्तिबाङबाट अधिकांश पर्यटकहरु पैदल यात्रामै त्यहाँ पुग्ने गरेको पाइन्छ। नरसिंहकोटबाट नजिकै रहेको टापुले पनि धेरैको मन लोभ्याउने गरेको छ। नरसिंहकोटमा पुग्ने पर्यटक १५÷२० मिनेटमै टापुमा पुग्न सक्छन्। यस क्षेत्रको प्रवद्र्धनका लागि आफूहरु निर्वाचित भएर आएदेखि नै भौतिक संरचना निर्माण र यस क्षेत्रको विकासमा जुटेको वडाध्यक्ष कुँवरको भनाइ छ।

उनले सुरुको वर्ष पर्यटन पदमार्ग निर्माण गरेको र हालसम्म क्रमशः पर्यटन पार्क, पाटी, पौवा, मन्दिर व्यवस्थापन, पदमार्ग, घेराबार, झाडी व्यवस्थापन, पुराना संरचनाको पुनःनिर्माण लगायतका काम भएको बताउँछन्। उनले पहिलेको तुलनामा निकै परिवर्तन आएको बताए। 

नरसिंहकोट क्षेत्रलाई गाउँपालिकाकै आकर्षक पर्यटकीय गन्तव्य भएको हुँदा यसको विकासका लागि सिङ्गो पालिकाको ध्यान केन्द्रित भएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए। उनले यसको विकासका लागि गुरुयोजना नै बनाएर पूर्वधार निर्माणमा जुटेको बताउँछन्।

मन्दिर व्यवस्थापन, मन्दिर परिसरमा पर्यटक बस्ने पौवा, भवन, खानेपानीको धारो निर्माण, शौचालय तथा पिकनिक स्पोर्ट निर्माण गरेको र यी संरचनालाई थप व्यस्थित गर्नका लागि गाउँपालिकाले प्रदेश र केन्द्रमा पनि सहयोगका लागि आग्रह गरेको उनले बताए । पर्यटकलाई पैदल यात्रा गर्नका लागि थप सहज होस् भन्ने उद्देश्यले रेलिङसहितको पदमार्ग निर्माण गरेको उनको भनाइ छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले पालिकाको नमूना पर्यटकीय गन्तव्य बनाउनका लागि हरेक वर्ष गाउँपालिकाले बजेट विनियोजन गर्दै आएको बताउँछन्। उनले पालिकाका अन्य पर्यटकीय गन्तव्यहरुको समेत पहिचान र प्रवद्र्धनमा गाउँपालिका लागेको भन्दै सबैको गुरुयोजना निर्माण गर्न थालिएको बताए।

उनले निसीखोलाले पर्यटन क्षेत्रबाटै समृद्ध हासिल गर्न सक्ने जनाउँदै आफूहरु सो अनुसार पर्यटकीय क्षेत्रको खोजी, प्रवद्र्धन र प्रचारमा जुटेको बताए। यस क्षेत्रमा करिब तीन सय ७५ मिटर लामो रेलिङसहितको पद मार्ग निर्माण भएको छ। यसले बुर्तिबाङ बजारबाट दैनिक आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ। रासस
 

प्रकाशित मिति: १०:३० बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्