तौथलीको दही छ्याप्ने जात्रा सम्पन्न
आपसमा दही छ्यापाछ्याप गरेर मनाइने जात्रा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथलीमा सम्पन्न भएको छ। यो जात्रा तौथलीमा मात्र मनाइन्छ।
चौतारा, असोज ३० : आपसमा दही छ्यापाछ्याप गरेर मनाइने जात्रा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथलीमा सम्पन्न भएको छ। यो जात्रा तौथलीमा मात्र मनाइन्छ।
विजयादशमीको भोलिपल्ट एकादशीका दिन दसैं सकिएको संकेत गर्दै खड्गजात्रासँगै त्रिपुरासुन्दरी भगवतीलाई दही चढाएपछि आपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ यो जात्रा मनाउने गरिन्छ।
बडादसैंको नवमीको रात मीन अर्थात माछाको पूजा गरी मनाइने र एकादशीका दिन खड्ग जात्रापछि अन्तिममा दही छ्यापेर मनाइने यहाँको यो जात्रा अन्यत्र कतै नमनाइने गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए।
तेह्रौँ शताब्दीमा मल्लकालदेखि सुरु भएको उक्त जात्रा गत वर्ष कोरोना महामारीका कारण बन्द गरिएको थियो। जात्रामा करिब ६ हजार मानिसको उपस्थिति थियो।
विगतमा एक लाख ५० हजारको दही खरीद गरी दहीको भल बग्ने गरी मनाइएकामा यस वर्ष ५० हजारको दही खरीद गरेर त्यही दही छ्यापाछ्याप गरी मनाइएको अध्यक्ष श्रेष्ठले बताए।
द्वापरयुगमा कौरव र पाण्डवको कलहका कारण पाण्डवहरूले जुवा हारेपछि १२ वर्ष वनवास र एक वर्ष गुप्तवास बसेका महाभारतमा उल्लेख छ। उनीहरू गुप्तवास बसेको ठाउँ दोलखा भएको पनि दाबी पनि गरिन्छ। गुप्तवास बस्दा अरूले चिन्ने डरले उनीहरूले सांकेतिक भाषा प्रयोग गर्ने गरेका ऐतिहासिक तथ्यहरूमा पाइन्छ।
दोलखा र तौथली डाँडावारि र पारि पर्ने हुँदा दुवै स्थानका नेवारले बोल्ने भाषा प्रायः मिल्दोजुल्दो छ। दोलखाका नेवार समुदायले बोल्ने भाषा तौथलीबाहेक नेपालका कुनै पनि स्थानमा बोलिँदैन र बुझ्न पनि कठिन पर्छ। त्यसैले त्यसै समयदेखि यो जात्राको पनि परम्परा जोडिँदै आएको बताइन्छ।












