Kathmandu Press

अटोमोबाइल अध्ययनमा छात्राको आकर्षण

पाल्पाको तिनाउ गाउँपालिका-४ झुम्सास्थित तिलोत्तमा माविमा सञ्चालित प्रि-डिप्लोमा अटोमोबाइल विषयमा अध्ययन गर्ने छात्रा बढ्दो क्रममा छन्।
अटोमोबाइल अध्ययनमा छात्राको आकर्षण

पाल्पा, असोज ३० : जिल्लाको तिनाउ गाउँपालिका-४ झुम्सास्थित तिलोत्तमा माविमा सञ्चालित प्रि-डिप्लोमा अटोमोबाइल विषयमा अध्ययन गर्ने छात्रा बढ्दो क्रममा छन् ।

उक्त विद्यालयले ०७६ सालदेखि मा १८ महिने अटोमोबाइल तालिम सञ्चालनमा ल्याएको छ । पहिलो वर्ष २३ छात्र मात्र भर्ना भएका थिए । दोस्रो वर्ष २२ जना भर्ना भएकामा ६ जना छात्रा थिए । अध्ययन अवधिभर ४० हजार शुल्क भुक्तानी गर्नुपथ्र्यो । छात्राहरूलाई आकर्षित गर्न विद्यालयले भर्नाबाहेकको शिक्षण शुल्क निःशुल्क गर्‍यो । त्यसपछि छात्राहरू बढेका हुन् ।

Hardik ivf

प्रधानाध्यापक झपिन्द्र ज्ञवालीका अनुसार छात्रा, जेहनदार तथा सीटीईभीटीले पठाएका एकजनालाई शुल्कमा पूर्ण छुट दिइएको छ । ‘यो विषयको अध्ययनले कोही पनि बेरोजगार हुनुपर्दैन, सीप भएपछि काम जहाँ पनि पाइन्छ,’ प्रअ ज्ञवालीले भने ।

विपन्न समुदायका बालबालिकालाई शिक्षण शुल्क तिर्न बाध्य नपारिएको र पैसाकै कारण अध्ययनबाट बाहिरिनुपर्ने बाध्यता नहुने प्रअ ज्ञवालीले बताए । एसइईमा ‘ई’ ग्रेड ल्याउने बालबालिका राम्रो विषय अध्ययनबाट वञ्चित छन् । ‘ई’ ग्रेड प्राप्त गर्नेहरूबाट दक्ष जनशक्ति उत्पादनका निम्ति अटोमोबाइल विषय सञ्चालन गरिएको उनको भनाइ छ ।

‘विद्यार्थीहरुले अध्ययन गर्न पाउने अधिकारको सुनिश्चित गरिएको छ । अन्य विद्यालयमा शिक्षण शुल्क अनिवार्य गरिए पनि यहाँ पैसा नभएका बालबालिकालाई अध्ययन गर्न पाउने गरी व्यवस्था मिलाएका छौँ,’ प्रअ ज्ञवालीले भने, ‘हामीले विद्यालय सञ्चालन गर्दा महायज्ञ गरी संकलित रकमबाट शिक्षकलाई तलब दिने गरेका छौँ ।’

रोजगारी पाउन सजिलो र अटोमोबाइलका क्षेत्रमा महिलाको उपस्थिति बढाउन यो विषयको अध्ययन सुरु गरिएको विद्यार्थी अस्मिता दर्लामीले बताइन् । शैक्षिक बेरोजगारी समस्या रहेकाले अटोमोबाइलको कोर्स अध्ययनपछि रोजगारीका अवसर सिर्जना गर्न सहज हुने एलिना सर्बुजाले बताइन् ।

पाल्पाका खानीबाट चुनढुंगा बोकेर टिपरको आवतजावत बढ्दो छ । त्यसबाट पनि स्थानीय स्तरमा रोजगारीको सम्भावना रहेकाले अटोमोबाइलसम्बन्धी अध्ययन सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बस्यालले बताए ।

‘शैक्षिक बेरोजगारीको समस्या स्थानीय तहबाट हल गर्न सीपमूलक व्यावसायिक तालिमको आवश्यकता छ । त्यसबाट दक्ष जनशक्ति उत्पादन गरी जटिल काम गर्न नपरोस् भनी अटोमोबाइल कक्षा सञ्चालन गरिएको हो,’ वडाध्यक्ष प्रेमप्रसाद पाण्डेय भने, ‘आर्थिक अभाव रहे पनि स्थानीय बासिन्दाको सहयोगमा आवासीय सुविधा प्रदान गरिएको छ । पहिलो वर्ष स्थानीय बासिन्दाका घर भाडामा लिई आवासीय सुविधा प्रदान गरिएकामा अहिले विद्यालयको भवन नै आवासका निम्ति प्रयोग गरिएको छ ।’ रासस

प्रकाशित मिति: १७:४७ बजे, शनिबार, असोज ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्