Kathmandu Press

पशुपालनमा माछापुछ्रेको फड्को

जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ। विगतमा निर्वाहमुखी कृषि गर्दै आएका किसानले अहिले पशुपालनलाई नै आम्दानीको मुख्य स्रोत बनाएर गाईभैंसी तथा बाख्रा पाल्न थालेपछि व्यावसायिकता विकास भएको हो।
पशुपालनमा माछापुछ्रेको फड्को

कास्की, असोज ३० : जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ। विगतमा निर्वाहमुखी कृषि गर्दै आएका किसानले अहिले पशुपालनलाई नै आम्दानीको मुख्य स्रोत बनाएर गाईभैंसी तथा बाख्रा पाल्न थालेपछि व्यावसायिकता विकास भएको हो।

गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा पहिलो स्थानमा छ। व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका किसानले दूध बेचेरै राम्रो आम्दानी गर्दै आएका छन् ।

संघ, प्रदेश तथा स्थानीय सरकारले व्यावसायिक कृषकका लागि अनुदान सहयोग लगायतका कार्यक्रम ल्याएपछि किसानहरू उत्पादनमार्फत् आयआर्जनमा प्रेरित भएका हुन् ।

Hardik ivf

गण्डकी प्रदेश सरकारले सहकारीबाट दूध बिक्रीका आधारमा कृषकलाई प्रतिलिटर दुई रुपैयाँ ५० पैसा अनुदान दिँदै आएको छ। यसैगरी कृषि तथा पशु बीमा निःशुल्क गरिएको छ। संघले बीमामा ७५ प्रतिशत अनुदान दिएकामा प्रदेश सरकारले २५ प्रतिशत थप गरेर निःशुल्क गरिएको छ।

गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि वृद्धि गरेर ५० पैसा अनुदान दिने भएको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए।

यस्तै, प्रदेश सरकारबाट ‘मोडल फार्म’, डेरी सुधारलगायत कार्यक्रमबाट कृषकलाई दुई–तीन वर्षदेखि निरन्तर सहयोग प्राप्त हुँदै आएपछि कृषकमा उत्साह बढेको छ।

नौ वडा रहेको गाउँपालिकाबाट दैनिक १० हजार ५०० लिटर दूध बिक्रीका लागि पोखरा बजारमा आउने गर्छ । मध्यम र साना कृषकले सहकारी संस्थाबाट दूध बिक्री गरे पनि ठूला कृषकले आफैं बजार खोज्ने गरेका छन् ।

गत आर्थिक वर्षमा विभिन्न पाँच सहकारी संस्थाबाट १८ लाख ३६ हजार ६३ लिटर दूध बिक्री भएको थियो । निजी फार्मबाट २० लाख आठ हजार ५०० लिटर दूध बिक्री भएको थियो ।

गाउँपालिकाको लाहाचोक, घाचोक र धितालबाट अन्य वडाबाट भन्दा बढी दूध उत्पादन हुने गर्दछ।

लाहाचोकबाट मात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ। वडा नं ३ को घाचोकबाट दैनिक तीन हजार ५०० लिटर र धितालबाट दैनिक एक हजार लिटर दूध बजारमा बिक्री हुने गरेको छ। रिभान, माछापुच्छ्रे र सार्दीखोलाबाट दैनिक ३०० लिटरका दरले दूध बिक्री हुने गरेको छ।

यस्तै, धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक ५०० लिटर दूध बिक्री हुने गरेको छ। समग्रमा दूध बिक्री गरेर गाउँपालिकामा कृषकले दैनिक सात लाख ३५ हजार तथा मासिक दुई करोड २० लाख रुपैयाँ हाराहारी आम्दानी गर्ने गरेको छ। रासस

प्रकाशित मिति: १०:४८ बजे, शनिबार, असोज ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्