३८० पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण सकियो
काठमाडौं, साउन २२ : २०७२ साल वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरुमध्ये ३८० वटाको पुनर्निर्माण सकिएको छ।&nbs....

काठमाडौं, साउन २२ : २०७२ साल वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरुमध्ये ३८० वटाको पुनर्निर्माण सकिएको छ।
पुनर्निर्माण सम्पन्न पुरातात्विक सम्पदाहरुमध्ये विश्व सम्पदा सूचीभित्रका ९६ वटा छन् भने विश्व सम्पदा सूचीबाहिरका २ सय ८४ वटा छन्। यी सम्पदाहरुको पुनर्निर्माणमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ खर्च भएको छ। पुनर्निर्माण सम्पन्न सम्पदाहरुमा हनुमानढोका दरवार क्षेत्रका गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक पुनर्स्थापना तथा तलेजु मन्दिर मुख्य छन्।
त्यसैगरी, भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिध्दिलक्ष्मी मन्दिर, नारायण मन्दिर, शंकरनारायण लगायतका मन्दिरहरुको पुनर्निर्माण कार्य सम्पन्न भएका छन्। चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनर्निर्माण भएको छ भने स्वयम्भू क्षेत्रको प्रतापपुर मन्दिर, अन्नतपुर मन्दिर, आनन्दकुटी महाविहार लगायतका सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण सकिएको छ।
त्यस्तै, पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योगनरेन्द्रको सालिक पुनर्स्थापना भएको छ भने मणिमण्डप र सुन्दरी चोकको पूर्वी लङको पुनर्निर्माण भएको छ। ऐतिहासिक कृष्ण मन्दिरको संरक्षण कार्य समेत गरिएको छ। थापाथलीस्थित जंगहिरण्य हेमनारायण मन्दिर, बौद्धस्थित बौद्धनाथ स्तूपा लगायतका पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण भइसकेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणको कार्य धेरै अघि बढिसकेकाले प्राधिकरणले पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणलाई विशेष प्राथमिकता दिएर कार्य गर्ने बताए। ‘सम्पदाहरुको पुनर्निर्माणलाई अझ तीव्र पार्न पुरातत्व विभागको क्षमता वृद्धि गर्नुका साथै अनुगमनलाई थप प्रभावकारी बनाउँछौं,’उनले भने।
पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले चालू आर्थिक वर्ष २०७६-०७७ मा थप १५० वटा सम्पदाको पुनर्निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिए। पुनर्निर्माण भइरहेका मुख्य सम्पदाहरुमा रानीपोखरी, धरहरा, बसन्तपुरस्थित काष्ठमण्डप तथा नौतले दरबार, रातो मछिन्द्रनाथको मन्दिर, नुवाकोटस्थित सात तले दरबारलगायत छन्।
भूकम्पबाट कुल ८ सय ९१ वटा पुरातात्विक एवं सांस्कृतिक महत्व बोकेका सम्पदाहरुमा क्षति पुगेको थियो। ती मध्ये ७ सय ५३ वटा भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका छन् भने भूकम्प प्रभावित १७ जिल्लाका १ सय ३८ वटा सम्पदा छन्।

-1784896419.png)









