Kathmandu Press

बेनीकोत पुनर्निर्माण

सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका-८ स्थित ऐतिहासिक बेनीकोत पुनर्निर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ
बेनीकोत पुनर्निर्माण

म्याग्दी, असोज ३० : सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका-८ स्थित  ऐतिहासिक बेनीकोत पुनर्निर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको थियो ।

बेनी नगरपालिकाले जिल्ला सदरमुकामस्थित ऐतिहासिक कोतघरलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न व्यवस्थापन र संरक्षण थालेको हो । नगर कार्यपालिकाका प्रवक्ता तथा वडाध्यक्ष रामकृष्ण बराइलीका अनुसार चालु आर्थिक वर्षमा दुई शीर्षकमा विनियोजन गरिएको १३ लाख रुपैयाँबाट कोतघर पुनर्निर्माण र व्यवस्थापन गरिनेछ ।

Hardik ivf

‘पाँच लाखबाट पहिलो चरणमा कोतघर परिसरको सार्वजनिक जग्गालाई व्यवस्थित र संरक्षण गर्न पूर्वाधार निर्माण भएको छ,’ उनले भने, ‘अर्काे शीर्षकमा विनियोजन भएको आठ लाखबाट कोतघर पुनर्निर्माण गर्न लागेका छौँ ।’

कोतघर संरक्षण तथा व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष अनोद श्रेष्ठका अनुसार सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुइँमा इँटा राख्ने काम सकिएको छ । यसअघि उपयोगविहीन रहेको सो जग्गामा अहिले बालबालिका खेल्न र ज्येष्ठ नागरिकलाई टहलिन मिल्ने गरी पूर्वाधार बनाइएको छ ।

साँघुरो ठाउँ र सडक भएको बेनीमा भेला, बैठक, सभा सञ्चालनका लागि पनि सो जग्गा उपयोगी हुने देखिएको छ । विसं १६३१ देखि नेपाल एकीकरण नहुँदासम्म ३४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनी थियो । प्राध्यापक कर्णबहादुर बानियाको पुस्तक ‘म्याग्दीको इतिहास, संस्कृति र सम्पदा’मा पर्वत राज्यका राजा हिउँदमा बेनी र गर्मीमा ढोलथानमा बसेर राज्य सञ्चालन गरेको उल्लेख छ । ऐतिहासिक महत्त्वका तोप, खुकुरी, तरबारलगायत हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने टक्सार निर्माण गरेका थिए ।

पौराणिक महत्त्व, मौलिकता र इतिहास ननासिने गरी कोतघर पुनर्निर्माण गर्नुपर्ने स्थानीयवासी पदमबहादुर खत्रीले बताए । कोतघर संरक्षणसँगै त्यहाँ रहेका ऐतिहासिक हातहतियार अवलोकन गर्न मिल्ने गरी पुनर्निर्माण गर्न लागिएको हो । कोतघरमा बडादसैं र चैतेदसैंमा पूजाआजा तथा बलि चढाउने गरिन्छ । रासस

प्रकाशित मिति: १०:२८ बजे, शनिबार, असोज ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्