लेकाली समुदायमा न दसैं आउँछ न त तिहार
सहर बजारमा दसैंको उत्साह छाए पनि हिमाली बस्तीमा दसैं तिहारको न उत्साह, न त उमंग नै। दैनिक चौँरी याक चराउँदैमा उनीहरूको दिन बित्ने गर्छ।
ताप्लेजुङ, असोज ३० : विजयादशमी दसैंको मुख्य दिन हो । मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न दसैं आउँछ, न त तिहार नै ।
त्यही लेकाली समुदायका एक हुन्, ६५ वर्षीय योन्जेन शेर्पा । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका उनी याक–चौँरीगाईसँग रमाउन थालेको ६५ वर्ष भयो । समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाइको मौवाटारमा उहाँको गोठ छ । छोराछोरीलाई अंशका रूपमा चौँरी बाँडेर पनि उनीसँग अहिले ३० वटा बाँकी छन् । तीमध्ये १० वटा दुहुना छन् । बिहान उठ्नेबित्तिकै एक गिलास दूध चिया पिएपछि झिसमिसेदेखि दुहुना चौँरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ ।
तिनलाई चरन क्षेत्रमा पु¥याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ । बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्पी बनाउँदासम्ममा घाम क्षितिजपारि पुगिसक्छ । साँझ परेपछि छरिएका चौँरी र याकलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म जुन उदाइसक्छ । यसैगरी लेकाली बस्तीका समुदायको दिन बित्छ ।
उनीहरूको मुख्य पुर्ख्यौली पेसा चौँरी–याकपालन नै हो । वर्ष दिनमा आउने दसैं तिहारजस्ता पर्वबारे आफूहरूलाई थाहै नहुने भएकाले चासो नभएको फक्ताङलुङ गाउँपालिकाका हेम्बे शेर्पाले बताए । चौँरी याकसँग हिमाल डुल्दाडुल्दै कतिखेर दसैं आउँछ, कतिखेर तिहार भन्ने थाहा नै नहुने गरेको अर्का स्थानीयवासी तेन्जिङ शेर्पाले बताए । मौवाटारमा चार, सिंजेको पोखरी क्षेत्रमा तीन र याङमा क्षेत्रमा नौवटा याकका घुम्ती गोठ छन् । मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोला क्षेत्रमा ३५ घुम्ती गोठ रहेको मिक्वाखा वडाध्यक्ष डण्डु लामाले बताए ।
ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छ । हिमाली बस्तीमा बासोबास गर्ने समुदाय पशुपालनमै निर्भर हुने भएकाले दसैंको खासै महत्त्व नहुने फक्ताङलुङ–७ का चुङदाक शेर्पाले बताए । सहर बजारमा दसैंको उत्साह छाए पनि हिमाली बस्तीमा दसैं तिहारको न उत्साह, न त उमङग नै । दैनिक चौँरी याक चराउँदैमा उनीहरूको दिन बित्ने गर्छ ।












