Kathmandu Press

लक्ष्यभन्दा दुई महिनाअघि नै भवन तयार

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा लक्ष्यभन्दा दुई महिनाअघि नै भवन निर्माण सकिएको छ।
लक्ष्यभन्दा दुई महिनाअघि नै भवन तयार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्र । फाइल तस्बिर ।

म्याग्दी, असोज २९ : जिल्लाको अन्नपूर्ण गाउँपालिकामा लक्ष्यभन्दा दुई महिनाअघि नै भवन निर्माण सकिएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविको छात्रावास भवन निर्माणको ठेक्का लिएका व्यवसायीले इच्छाशक्ति हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएका छन् । अन्नपूर्ण गाउँपालिकासँग चैत ०७७ मा दुईतले १० कोठे छात्रावास निर्माणका लागि सम्झौता गरेको उत्तरगंगा निर्माण सेवाले लक्ष्यभन्दा दुई महिनाअघि नै काम सकेको हो । आगामी मंसिरसम्म म्याद भए पनि निर्माण व्यवसायीले भवन तयारी पारिसकेको गाउँपालिकाका इन्जिनियर ईश्वरबहादुर भण्डारीले बताए ।

Hardik ivf

‘ठेक्का सम्झौतालगत्तै फैलिएको कोरोना महामारी, निषेधाज्ञा, वर्षा सुरु भएपछिको बाढी पहिरोको असहज अवस्थाका बावजुद पनि लक्ष्यअघि नै भवन बन्यो,’ उनले भने । एक करोड ४८ लाख रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माणका लागि एक करोड एक लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माण व्यवसायी कृष्णप्रसाद बरुवालले आवश्यकताअनुसार निर्माण सामग्री, उपकरण जुटाइएको, मजदुर परिचालन गरिएको बताए ।

गाउँपालिका, वडा कार्यालय र समुदायबाट भवन निर्माणमा सहजीकरण भएकाले काम गर्न सहज भएको उनको भनाइ छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नमूना विद्यालय कार्यक्रमअन्तर्गत ज्ञानप्रकाश माविमा पहिलो चरणमा छात्रावास भवन निर्माण भएको हो ।

नवनिर्मित छात्रावास तिहारलगत्तै प्रयोगमा ल्याउने तयारी भइरहेको प्रधानाध्यापक शान्तबहादुर नेपालीले बताए । ‘भवन बनेपछि घर टाढा भएका र साँझबिहान अतिरिक्त कक्षा लिनुपर्ने कक्षा–१० का विद्यार्थीलाई डेरा खोज्नुपर्ने समस्या हटेको छ,’ उनले भने ।

प्रकाशित मिति: १९:५२ बजे, शुक्रबार, असोज २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्