Kathmandu Press

यी हुन् सदावहार दसैं गीत

दसैंका गीतहरूले दसैंको महत्त्वको बयान गर्छन्। दसैंको स्मरण गराउँछन्। पारिलो घामसँगै स्वस्थ र हरियाली वातावरणको संकेत गर्छन्।
यी हुन् सदावहार दसैं गीत

काठमाडौं असोज २९ : मंगल धुनले दसैंको आगमन संकेत गर्छ । गीत संगीतले हरेक चाडपर्व वा कार्यक्रममा छुट्टै रौनक थप्छ । त्यसैले मंगल धुनसँगै दसैं विशेष विभिन्न गीत सार्वजनिक हुन्छन् ।

दसैंका गीतहरूले दसैंको महत्त्वको बयान गर्छन् । दसैंको स्मरण गराउँछन् । पारिलो घामसँगै स्वस्थ र हरियाली वातावरणको संकेत गर्छन् । केही यस्ता पुराना गीत छन्, जसले दसैंको सम्झनालाई ताजा बनाउँछन् । तिनै पुराना गीतलाई समेट्ने प्रयास गरिएको छ ।

दसैं आयो

Hardik ivf

‘लरिलरिलरि लै... लरिलरिलरि लै
वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो,
नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो,
हो...हो...दसैं आयो.. हो...हो..दसैं आयो..।

गीत सार्वजनिक भएको सात वर्ष पुग्दा पनि दसैंको बेलामा यस गीतले चर्चा पाइरहन्छ । यो गीतका भ्युअर्स एक करोड २० लाख नाघिसकेका छन् । युट्युबमा ९३ हजारले यसलाई लाइक गरेका छन् । यस्तै, पाँच हजार एक सयजनाले कमेन्ट गरेका छन् ।

यो गीत फिल्म ‘मुग्लान’मा समावेश गरिएको छ । ‘दसैं आयो’ गीत लोकनाथ सापकोटाले लेखेका हुन्, संगीत पनि उनकै छ । लोकभाका रहेको यो गीतलाई उदितनारायण झा र दीपा झाले स्वर दिएका छन् ।

दसैं तिहार

वर्ष र दिनमा लै लै.. हर्षका दिनै लै लै
दसैं तिहार चाड र बाड खुशीले सारा भ¥यो नि संसार ...

यो दसैं गीत पनि तीन वर्षअघि गायक सुगम पोखरेलले सार्वजनिक गरेका हुन् । ‘दसैं तिहार’ एल्बममा समावेश गीतलाई रवि श्रेष्ठले लेखेका हुन् । गीतमा संगीत गायक पोखरेलकै छ । गीतको भिडियोले युट्युबमा एक करोड ६० लाखले हेरेका छन् । एक सय ३२ हजारले लाइक गरेका छन् । यस्तै, पाँच हजार पाँच सयले कमेन्ट गरेका छन् ।

फौजीलाई कुन हो दसैं

किन आउँछ दसैं तिहार.. किन विदा बाद
फौजीलाई कुन हो दसैं कुन हो चाड तिहार

आठ वर्षअघि सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको ‘फौजीलाई कुन हो दसैं’ सधैँभरि चर्चामा रहेको देख्न सकिन्छ । सशस्त्र प्रहरी बलले निर्माण गरेको यो गीतमा जगदीश समालले स्वर दिएका छन् । शब्द दीपक कोइरालाको छ ।

सशस्त्र प्रहरीकै श्रव्यदृश्य टोलीले तयार गरेको भिडियोमा सुरेश गैरेलगायत सोही बलको युनिटलाई फिचर्ड गरिएको छ । यो भिडियो ३५ लाखले हेरेका छन् भने २० हजारले लाइक गरेका छन् ।

दसैं आयो तिहार आयो

दसैं आयो लै लै तिहार आयो लै लै..
छरिन् अरे आमाले जमरा छोरा आउने खबर सुनेर...

दुई वर्षअघि आएको ‘दसैं आयो तिहार आयो’ गीत पनि युट्युबमा चर्चित छ । दुर्गेश थापा र रिमा कउचले स्वर दिएको यो गीत पनि धेरैले रुचाएकोमध्येको हो । यस गीतलाई ३८ लाखले हेरेका छन् भने ५६ हजारले लाइक गरेका छन् ।

बडा दसैं आयो...

हो हो हो हो... ला ला ..ला
जमरा र रातो टीका पिङको मौसम आयो ..
मान्यजनको आशिस लिने बडा दशै आयो ..

लोक भाकाको गीत ‘बडा दसैं आयो’मा टंक बुढाथोकी र सरु गौतमको स्वर छ । उक्त गीतमा शब्द तथा संगीत गायक बुढाथोकीसँगै अर्जुन कार्की र अमृता नेपालको छ । भिडियोमा निता ढुंगाना र शंकर बीसीले अभिनय गरेका छन् ।


दसैं आयो तिहार आयो ...

दसैं आयो तिहार आयो मनै हरर..
प्लेन टिकट गरी नेपाल जान्छु सरर..

गायक टंक बुढाथोकी र गायिका बुनु उप्रेतीका साथै चर्चित बाल गायक अशोक दर्जी, गायिका विन्दु परियार र गायक प्रकाश आचार्यको स्वर यस गीतमा छ ।

गीतमा टंक बुढाथोकी र बुनु उप्रेतीको लय तथा शब्द छ । भिडियोमा लक्ष्मी गिरी, सुरवीर पण्डित, टंक बुढाथोकी, अशोक दर्जी, बुनु उप्रेती र दक्षता श्रेष्ठको मुख्य अभिनय छ । भिडियो निर्देशन टंक बुढाथोकीले गरेका छन् ।

दुई साताअघि मात्र सार्वजनिक भएको यो गीतले धेरैको ध्यान तानेको छ । युट्युबमा यो गीतका भ्युअर्स ४२ लाख नाघेका छन् । एक लाख पाँच हजारले लाइक गरेका छन् ।

यसपालि दसैंमा ठूलो दाइ आउने रे ...

यसपालि दसैंमा ठूलो दाइ आउने रे..
बाबालाई रेडियो आमालाई सारी ...

दसैं विशेषको यो गीत पनि युट्युबमा सधैँ चर्चामा छ । स्वर्गीय कुल पोखरेलको शब्द र लय छ, यो गीतमा । अहिले पनि दर्शक, स्रोतले यो गीत मन पराएको पाइन्छ ।

चरर..बरर..धरर..

फुलेका होलान् मखमली फूल डुलेका भमरा..
यसपालि लगाउन पाइनँ टीका र जमरा..

यो गीतमा शब्द र संगीत प्रकाश सपुतको छ भने संगीत संयोजन आशिष अविरलले गरेका छन्  । उक्त गीत युट्युबमा ८३ लाखले हेरेका छन् । यो गीत चार वर्षअघि सार्वजनिक भएको हो ।

दसैं नै हो कि यो मेरो दशा

गायक योगेश्वर अमात्यको स्वर रहेको गीत हो ‘दसैं नै हो कि यो मेरो दशा’ । यो गीतले विपन्न वर्गमा दसैंले निम्त्याउने समस्याको भाव समेटेको छ । यो गीत पनि सदावहार चर्चामा छ ।

यो दसैंमा म घर आइनँ

लोक दोहोरी गीत हो ‘यो दसैंमा म घर आइनँ’ । यो गीतमा रेशम थापा, उद्धव कार्की, सीता थापा र गीता कोइरालाको स्वर छ । यो पनि दसैंको सदावहार चर्चामा रहेको गीत हो ।

प्रकाशित मिति: १८:२२ बजे, शुक्रबार, असोज २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्