Kathmandu Press

खड्गभवानी कोतमा मौलो पूजासहित सामूहिक टीका

गलेश्वर, असोज २९ : म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित ऐतिहासिक तथा सामरिक महत्वका खड्गभवानी कोतमा विजयादशमीका दिन आज बिहान १० बजेर २ मिनेटको शुभ साइतमा...
खड्गभवानी कोतमा मौलो पूजासहित सामूहिक टीका

गलेश्वर, असोज २९ : म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित ऐतिहासिक तथा सामरिक महत्वका खड्गभवानी कोतमा विजयादशमीका दिन आज बिहान १० बजेर २ मिनेटको शुभ साइतमा मौलो पूजासहित सामूहिक टीका ग्रहण गरिएको छ।

घटस्थापनादेखि बडादसैँको दिनसम्म दुर्गा भवानीको पूजाअर्चना गरी कोत परिसरमा रहेको शक्तिको प्रतिक मौलोमा दही र अक्षता चढाइँ समृद्धि र सहकालको कामना गर्दै सामूहिकरुपमा मौलो पूजा गरी प्रसादस्वरुप टीका ग्रहण गरिएको हो।

Hardik ivf

मौलोमा कोट पूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरे, बेनी नगरपालिका–२ का वडाअध्यक्ष हिराबहादुर थापा, स्थानीय ज्येष्ठ नागरिक, स्थानीयवासी, पुजारी, उपासु तथा सर्वसाधारणले दही र अक्षता चढाउँदै सहकाल र समृद्धिको कामना गरेका छन्।

नेपाल एकीकरण हुनुपूर्व तत्कालीन पर्वत राज्यअन्तर्गत पर्ने ऐतिहासिक तथा सामरिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको खड्गभवानी कोतमा परम्परादेखिनै दुर्गा भवानीको पूजा आराधना हुनुका साथै सप्तमीको दिनदेखि नवमीको दिनसम्म बलिसहित शक्तिस्वरुपा नवदुर्गा भवानीको विशेष पूजा अर्चना गर्ने परम्परा रहिआएको छ।

कोतको अगाडि रहेको मौलो र हतियार रहेको कोत घर खड्ग भवानी मन्दिरका विशेषता रहे पनि बली दिएका राँगो र खसीको शिर कुन दिशातर्फ फर्कन्छ र घटस्थापनाको दिनमा बालिएको बत्ती दशमीका दिनसम्म निभ्छ कि निभ्दैन भन्ने विषयले निकै महत्व पाउने स्थानीय ज्येष्ठ नागरिकको भनाइ छ।

तत्कालीन राजा भर्तिवम मल्लको दरबारलाई उनको मृत्युपछि कोत बनाई राजाले प्रयोग गरेका हातहतियार, ढाल, तरबारलगाइतका सामान राखिएको खड्ग भवानी कोत ऐतिहासिक दृष्टिकोणले मात्र नभई प्राकृतिक सौन्दर्य र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण रहेकाले यसको विकासका लागि वडा कार्यालयले पहल गरिरहेको छ। यहाँ पदमार्ग लगायतका केही पूर्वाधार निर्माण भइसकेको बेनी नगरपालिका–२ का वडाध्यक्ष हीराबहादुर थापाले बताए।

उनका अनुसार खड्गभवानी कोतसँग म्याग्दी जिल्लाकै इतिहास र बाइसेचौबीसे राज्यको वास्तविकता गाँसिएकाले कुरिलाखर्क महारानी, बेनीको शिवालय मन्दिर, निरयघाट, ढोलठान र ताकमकोटसँग ज्यामरुककोटको ऐतिहासिक सम्बन्धको बारेमा खोजीनीतिसमेत भइरहेको छ।

गौरवमय इतिहास रहेको ज्यामरुककोटलाई देश विदेशमा परिचित बनाउन र यसको विकास गर्न सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न उनले आग्रहसमेत गरे।

प्रकाशित मिति: १४:३७ बजे, शुक्रबार, असोज २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्