होमस्टेमा बढ्न थाले पाहुना
बागलुङ, असाेज २८ : होटलमा बस्न खोज्ने पाहुनाले खोजी खोजी घरबासमा (होमस्टे) आएपछि काठेखोला गाउँपालिका– ६ का प्रमानन्द कंडेलले दङ्ग परे । उनले...
बागलुङ, असाेज २८ : होटलमा बस्न खोज्ने पाहुनाले खोजी खोजी घरबासमा (होमस्टे) आएपछि काठेखोला गाउँपालिका– ६ का प्रमानन्द कंडेलले दङ्ग परे । उनले पाहुनालाई आफ्नो घरबासमा राखे।
लामो समय कोरोना र निशेधाज्ञाले उनले घरबास सुस्ताएको थियो । उनले भने ‘पाहुनाले नै घरवास खोज्दै आएपछि एकछिन दंग भएँ । सुरुमा डर लाग्यो । व्यवस्थापन गर्न लागेँ ।’
बिहुँस्थित शिवधुरी घरबासमा केही दिनदेखि छिटफुट पाहुना आउन थालेको उनले बताए। ‘केही दिनअघि लमजुङदेखि पाहुना आए, हामीले शुरुमा डराइडराइ राख्यौं’, उनले भने, ‘अब डराएर हैन, सावधानी अपनाएर पाहुना राख्ने हो।’
गाउँमा आएका पाहुनाले मकै, कोदो, फापरजस्ता गाउँमै उत्पादित बस्तु खान खोजेको उहाँले बताउनुभयो । त्यस्तै हरियो सागपात र लोकल कुखुरा धेरैको रोजाइमा पर्ने गरेको छ । ‘गाउँमा आइसकेपछि धेरैले ‘अर्गानिक’ खाने भन्छन्, हामीले पनि त्यही अनुसारको व्यवस्थापन गर्न खोजेका छौं,’ उनले भने, “डेढ वर्षदेखि सुस्ताएकोले होमस्टेमा पाहुना राख्न सामानसमेत अपुग छन्, जुटाउँदै छौं।’
स्थानीय पवित्रा पुनले पाहुनाको स्वागत सत्कारबाट गाउँमा फरक संस्कृति, भरक भूगोल र भाषाको ज्ञान बढ्न थालेको जानकारी दिइन् । ‘हामीले पनि समयमै जानकारी पाएमा सामान्य भएपनि साँस्कृतिक क्रियाकलाप देखउँछौं’ उनले भनिन्, “आएका पाहुनाबाट धेरै कुरा सिक्न सकिन्छ।’ सिकाइबाट बालबालिकामा पनि सकारात्मक सन्देश जाने गरेको उनले बताए।
बिहुँको शिवधुरी होमस्टे दुई वर्षअघि मात्रै संचालनमा आएको थियो । तर डेढ वर्षदेखि कोरोना संक्रमणले व्यवसायिक बन्न नसकेको अध्यक्ष प्रेम श्रीषले बताए। तर आएका पाहुनलाई लोकल जातका खाना खुवाउने चलन भने बस्न थालेको छ ।
ताराखोलाको किकल्टा होमस्टेले आफ्नै भवन बनाएको छ । पाहुना आउने क्रम पनि बढेको स्थानीय निता घर्तीले बताए। पाहुनाले ताराखोला पुग्दा ट्राउट माछा र सिस्नोको अचार खोज्ने गर्छन् । होमस्टे सञ्चालकहरुको क्रियाशीलताले उपभोक्ताको मन जितेपछि स्वास्थ्य मापदण्ड पालना गर्दै होमस्टे संचालन पनि भैसकेको हो ।
बजार क्षेत्रमा जस्तो भीड पनि नहुने, आएका पाहुनालाई घरघरमा बाँडेर राख्न पनि सकिने भएपछि अब सुरक्षित रुपमा होमस्टे चलाउनु पर्छ भन्ने मान्यताले आएका पाहुना स्वागत थालिएको होमस्टे संचालक फूलमाया रोकाले बताइन्।
कोरोनाले गर्दा डेढ वर्षदेखि होमस्टे अबरुद्ध जस्तै थिए । गण्डकी प्रदेश सरकारको १० लाखमा गाउँपालिकाको ५ लाख र श्रमदानसमेत गर्दा २० लाखमा किकल्टाको आफ्नै घर बनेको छ। होमस्टेका अन्य सामग्री खरिदमा स्थानीय दाताले पनि साथ दिएका छन् । भवन बनेपछि सामग्री राख्न, सांस्कृतिक क्रियाकलाप संचालन गर्न सहज भएको उनले जानकारी दिए।
काठेखोलाकै बेलढुंगा होमस्टे पनि बिस्तारै संचालनमा आउन थालेको छ । यहाँपनि साँस्कृतिक क्रियाकलाप प्रदर्शनी र गाउँ घुमाउने कार्यक्रम जोडिएको छ । बिहान उठेपछि धौलागिरि र अन्नपूर्ण हिमाली श्रृङखला देखाउने गरी स्थानीयले व्यवस्थापन पनि गरेका छन्। - रासस












