Kathmandu Press

घट्यो रोटको व्यापार

नवरात्रका बेला दिनमा पाँच सयसम्म रोट बिक्री गर्ने विमला प्रधान अहिले मुस्किलले बढीमा दुई सयसम्म मात्रै बिक्री गर्छिन् ।
घट्यो रोटको व्यापार

तानसेन, असोज २८ : नवरात्रका बेला दिनमा पाँच सयसम्म रोट बिक्री गर्ने विमला प्रधान अहिले मुस्किलले बढीमा दुई सयसम्म मात्रै बिक्री गर्छिन् ।

‘दसैंका बेला दैनिक तीनदेखि चार जनासम्म कामदार बन्दोबस्त गरी बिहानदेखि साँझसम्म रोट पकाउनुपथ्र्यो, अहिले पूजाआजा गर्ने दर्शनार्थी कम भित्रिएसँगै रोटको व्यापार घटेको छ,’ प्रधानले भनिन् । दसैंका बेला मात्रै रोट बिक्रीबाट तीन लाख रुपैयाँसम्म कमाइ गर्थिन् उनले ।

Hardik ivf

डेढ दशकदेखि रोटको व्यापार गर्दै आएकी छन् प्रधानले । हरेक शनिबार उनले १५० देखि २०० वटासम्म रोटको व्यापार गर्थिन्, विगतमा । कोरोनाको असरले अहिले मुस्किलले ४० देखि ५० वटाको मात्र व्यापार हुने गरेको छ । रोटबाटै दैनिक ५० हजारसम्म कमाइ गर्थिन् प्रधानले ।

‘पहिले रोट बनाउन बिहानैदेखि साँझसम्म भ्याइनभ्याइ हुन्थ्यो, अहिले शनिबारका दिन ५० वटासम्म र अन्य दिन १५ देखि २० वटासम्म मात्र रोट बिक्री हुन्छ,’ उनले भनिन् । पाल्पामा एक–एक माना जोडीको तीन सय र एक पाथीको दुई हजार चार सय रुपैयाँमा रोट बिक्री हुन्छ । पाल्पा भैरव मन्दिर परिसरमा करिब एक दर्जन रोट व्यापारी छन् । पाल्पाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय भैरवस्थान मन्दिरमा कोरोनाको कहरका कारण पूजाआजा गर्न आउने दर्शनार्थीको संख्या कम हँुदै गएपछि रोट व्यवसाय खस्केको छ । रोट भैरवको प्रसादका रूपमा मन्दिरमा चढाउने गरिन्छ । भैरव मन्दिरमा आउने दर्शनार्थीले आफ्नो भाकलअनुसार रोट चढाउने परम्परा छ ।

चामलको पिठो, चिनी, नरिबल, बदाम, काजुजस्ता बस्तु मिसाएर रोट घ्यूमा पकाउने गरिन्छ । यहाँ महाँकाल भैरव रहेको कोठामा सयौँ वर्षदेखि अखण्ड ज्योति बलिरहेको पुजारी बताउँछन् । मन्दिरको छानामा स्वर्ण जलप लगाइएको गजुर छ । भैरव बाबासँग भाकल गरेमा मनोकामना पूरा हुने विश्वासले पाल्पासहित गुल्मी, अर्घाखाँची, प्युठान, बागलुङलगायत जिल्लाबाट भक्तजन आएर रोट चढाउने र बलि दिने गर्छन् ।

पाल्पाका तत्कालीन सेनवंशी राजा मणिमुकुन्द सेनले १६ औँ शताब्दीमा भैरव बाबा उत्पत्ति भएको ठाउँमा यो मन्दिर निर्माण गरेका थिए । मन्दिरसँगै रहेका पौवाबाट मणिमुकुन्द सेनले नियमित भैरवको आराधना गर्ने गर्थे । मन्दिर दुई तलाको छ । माथिल्लो भागमा बटुक भैरवको मूर्ति छ भने तल्लो भागमा काल भैरवको मूर्ति छ ।

प्रकाशित मिति: ०९:०१ बजे, बिहीबार, असोज २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्