Kathmandu Press

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान गरिएको छ ।
चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत

तनहुँ, असोज २८ : चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका-५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान गरिएको छ । बन्दीपुर गाउँपालिका र डिभिजन वन कार्यालयले किरिया खर्चबापत बालिकाको परिवारलाई एक लाख रुपैयाँ प्रदान गरेका हुन् ।

गत सोमबार साँझ चितुवाको आक्रमणमा परी नौ वर्षीया स्वीकृति थापाको मृत्यु भएको थियो । गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले मृतक बालिकाका हजुरबुबवा यामबहादुरलाई बुधबार उक्त रकम प्रदान गरे । दुवै निकायले राहतस्वरुप तत्कालका लागि ५०-५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

Hardik ivf

वन कार्यालयले १० लाख रुपैयाँ राहत प्रदान गर्ने भएकामा तत्कालका लागि ५० हजार रुपैयाँ दिएको हो । थप नौ लाख ५० हजार रुपैयाँ केही दिनभित्र उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

घरगोठ उज्यालो बनाउन आग्रह

विगत केही वर्षयता तनहुँमा चितुवाको आतंक छ । बन्दीपुरमा बालिका आक्रमण गर्ने चितुवाले फेरि मानिसमाथि आक्रमण गर्न सक्ने भएकाले सचेत रहन साँझ र राति घर गोठ उज्यालो राख्न वन कार्यालय तनहुँले आग्रह गरेको छ । ‘एकपटक आक्रमण गरेको चितुवाले फेरि मानिसलाई आक्रमण गर्नसक्ने सम्भावना हुन्छ, त्यसका लागि सतर्क बन्नुपर्छ,’ डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भने, ‘घरगोठ बलियो पारौँ, झाडी सफा गरौँ, बिहान साँझ एक्लै नहिँडौँ, बच्चालाई एक्लै घर बाहिर नपठाऔँ, बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गरौँ ।’

१ फागुन ०७४ मा पहिलोपटक भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका ११ बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति: ०७:४६ बजे, बिहीबार, असोज २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्