म्याग्दीका तीन गाउँ व्यावसायिक केरा खेतीमा

म्याग्दी, असाेज २७ : म्याग्दीका तीन गाउँमा धान फल्ने खेत र कोदो फल्ने बारीभरि व्यावसायिक केरा खेती गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–२ खबरा, बगरफाँट र रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा धानखेत र बारीमा केरा खेती गरिएको हो ।
व्यावसायिकरुपमा गरिएको केराखेतीबाट यी तीन गाउँका किसानले अन्नबालीको तुलनमा पाँच गुणा बढी आम्दानी गर्दै आएका छन् । केरा बेचेर प्राप्त गरेको आम्दानीबाट गाउँमै आरसिसी घर ठडिएका छन् भने किसानका छोराछोरीले काठमाडौँ, पोखराजस्ता सहरमा बसेर शिक्षा आर्जन गरिरहेका छन् ।
बेनी नगरपालिका–२ खबराका किसान शोभित शर्माले केराखेती आफ्ना लागि आम्दानीको गतिलो माध्यम बनेको बताए। उनले केरा बिक्री गरेर वार्षिक आठदेखि १० लाखसम्म रुपैयाँ कमाई हुँदै आएको जानकारी दिए। उनले करिब १४ रोपनी क्षेत्रफलको जग्गामा केराखेती गरेका छन्।
२०६५ सालदेखि व्यावसायिक कृषिमा होमिएका शर्माले १३ वर्षको यो अवधिमा तरकारी र फलफूलबाट नै युरोप अमेरिकाको कमाई गाउँमा नै गर्दै आएका छन्। केरा बेचेर भएको कमाईले उनले खबरामा भव्य आरसिसी घर बनाएका छन्।
यसैगरी रघुगङ्गा गाउँपालिका–२ रिसिन चौतारीका युवा रमेशबहादुर कटुवालले १२ रोपनी क्षेत्रफलको जग्गामा व्यावसायिक केराखेती गरेका छन्। आरम्भ कृषि तथा पशु फार्मबाट सुरु गरिएको व्यावसायिक केरा खेतीलाई मुख्य पेसासँगै एक हजार केराका बिरुवा लगाएको कटुवालले बताए।
उत्पादन गरेको केरा बिक्रीका लागि सदरमुकाम बेनी, पर्यटकीयस्थल घोरेपानी, मल्लाजलगायतको क्षेत्रबाट व्यापारीहरु आउने गरेकाले बिक्रीका लागि कुनै समस्या नरहेको किसान कटुवालले बताए। ४ वर्षदेखि सुरु गरेको केराखेतीबाट उहाँले वर्षमा रु तीन देखि चार लाख आम्दानी गर्दै आएका छन्।
बेनी नगरपालिका–२ को खबराको नाम नै परिवर्तन गरेर ‘केरा गाउँ’ राखिएको छ भने बगरफाँटमा पनि लहलहै धान फल्ने खेतका गह्रामा रहरलाग्दो तरिकाले केराखेती गरिएको स्थानीय किसान दुर्गाबहादुर थापाले बताए। खबरामा केरा बिक्री गरेर मात्रै वर्षमा रु डेढ करोडभन्दा बढी आम्दानी हुने त्यहाँका अगुवा किसान चन्द्रबहादुर कार्कीको भनाइ छ ।
खबरा, बगरफाँट र रिसिन चौतारीका प्रत्येक कृषकले केराखेती गरेका छन् । यहाँका किसानले एक सयदेखि तीन हजारसम्म केराका बिरुवा लगाएका छन् । खबरा, बगरफाँट र रिसिन चौतारीलाई वडाले केराको पकेट क्षेत्र घोषणा गरेको छ ।












