राष्ट्रपति भण्डारीले गरिन् पलाञ्चोक भगवती दर्शन
राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैं महाअष्टमीका दिन बुधबार बिहान काभ्रेस्थित पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन् ।
काठमाडौं, असोज २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैं महाअष्टमीका दिन बुधबार बिहान काभ्रेस्थित पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन् ।
पाँचखाल–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उले बिहान करिब दश मिनट पूजाअर्चना गरेकी हुन् । उनी बिहान साढे १० बजे मन्दिर पुगेकी थिइन् । राष्ट्रपति भएपछि उनले पलाञ्चोक भगवतीको दर्शन गरेको यो तेस्रोपटक हो ।
राष्ट्रप्रमुखले बडादसैंका अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा छ । राष्ट्रपति भण्डारीलाई जिसस प्रमुख उद्धव केसी, पनौती नगप्रमुख भीम न्यौपाने, धुलिखेल नगरप्रमुख अशोककुमार ब्याञ्जू, बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठ, पलाञ्चोक भगवती विकास तथा सेवा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, पाँचखाल नगर उपप्रमुख लक्ष्मी दनुवारलगायतले स्वागत गरेका थिए ।
हेलिकोप्टरमार्फत पाँचखालस्थित नेपाली सेनाको शान्ति तालिम केन्द्रमा अवतरण गरेकी राष्ट्रपतिलाई कडा सुरक्षासाथ करिब पाँच किलोमिटर टाढाको मन्दिरसम्म पु¥याइएको थियो ।
करिब १७ सय वर्षअघि अर्थात् सम्वत् ४२५ मा मानदेव प्रथमको पालामा स्थापित पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदी–बहिनीमध्ये पलाञ्चोक भगवती ठूली दिदी मानिन्छिन् । यो मन्दिरमा खासगरी दसैं, माघे–संक्रान्ती र वैशाख पूर्णिमामा भक्तजनको घुइँचो लाग्छ ।












