कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय
बडादसैंको आठौँ दिन बुधबार साँझ नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन्।
काठमाडौं, असोज २७ : बडादसैंको आठौँ दिन बुधबार साँझ नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् ।
नेपाल भाषामा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । नेवार समुदायमा कुछी भ्वयको विशेष महत्त्व छ ।
कुछी भ्वय खान तरकारीका परिकार मात्रै १२ थरि चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ। केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरि चाना), अदुवा, बोडी, केराउ, मस्याङ, घिरौँला, भटमासलगायत परिकार राखेर कुछी भ्वय खाने गरिन्छ । नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय खानुपर्ने मान्यता छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन छ ।
दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको एक थरिको भनाइ छ भने केही संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकाले यसको नाम कुलछी भ्वय भएको तर पछि अपभ्रंस भएर कुछी भ्वय हुन गएको बताउने गरेका छन् ।
महाअष्टमीको दिन बिहान नेवार समुदायले घर–घरमा दसैंको मासु भित्र्याउँछन् । सो समुदायमा गुठी र टोल छिमेक मिलेर संयुक्त रूपमा काटेर भाग लगाएको राँगाको मासु घर–घरमा भित्र्याउने चलन छ । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्किने गरिन्छ । मासुलाई मन्छाएर मात्र घर भित्र्याउने चलन छ ।












