मध्यपहाडी राजमार्ग : पोखरा-बागलुङ खण्डमा ९५ प्रतिशत काम सकियो
राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका-२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ।
कास्की, असोज २७ : राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका-२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ ।
पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमि सडक निर्माण ९५ प्रतिशत सकिएको मध्यपहाडी सडक आयोजनाले जनाएको छ । ढिलोमा आगामी माघभित्र सम्पूर्ण काम सम्पन्न हुने दाबी आयोजनाको छ ।
फेदीदेखि घट्टेखोलासम्मको दुई किमि सडकबाहेक अन्य सबै स्थानमा ‘अस्फाल्ट’ कालोपत्रे सकिएको छ । दुई किमि खण्डमा पनि कालोपत्रेका लागि सबै काम तयारी अवस्थामा छ । कालोपत्रेपछि अहिले रोड मार्किङलगायत काम जारी छ ।
याम्दीदेखि सुुइखेतसम्म ६ किमि र सुइखेतदेखि घट्टेखोला ६ किमि दुई सय मिटर गरी दुई खण्डमा ठेक्का सम्झौता गरेर काम सुरु गरिएको थियो । सो सडकको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाका इन्जिनियर अनन्त बरालले जानकारी दिए । सुरुमा विद्युत् पोल र खानेपानीको पाइपको स्थानान्तरणको प्राविधिक समस्याले ढिलाइ भएको र पछि कोरोनाका कारणले आयोजना प्रभावित भएर तीन पटकसम्म म्याद थप गरिएको उनले बताए।
असोजदेखि बाँकी रहेको स्थानमा कालोपत्र गर्ने योजना रहे पनि नियमित वर्षा भएकाले काम सुरु गर्न नसकिएको उनको भनाइ छ । ०७६ असोज मसान्तभित्रमा सम्पन्न गर्ने गरी ०७४ भदौमा आयोजनाको ठेक्का सम्झौता भएको थियो ।












