लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ
मोरङ, असोज २६ : धनपालथान गाउँपालिका ४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन...
मोरङ, असोज २६ : धनपालथान गाउँपालिका ४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
सोमबार दिउँसो प्रहरीले तीन जनालाई १ थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा विराटनगर उपमहानगरपालिका ८ का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया गोराहा ४ का ३० वर्षीय बिजय सहनी र भारत सेखपुरा ५ का २८ वर्षीय सुनिल यादव रहेका छन्।
उक्त बैंकमा मोटरसाइकलमा आएका हतियारधारी समूहले बैंकको गार्डलाई गोली प्रहार गरी घाइते बनाई नगद लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयबाट लुटपाटमा संलग्नहरुको खोजी गर्ने क्रममा प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरीले लुटपाटमा संलग्नमध्ये को.२५ प ३८९९ नम्बरको मोटरसाइकलमा सवार ३ जनालाई कटुवा पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो।
साथै घाइते भएका लुटपाटमा संलग्न बिजय सहनीको प्रहरीको निग्रानीमा रङगेली अस्पतालमा उपचार भइरहेको छ भने गोली प्रहारबाट घाइते भएका बैंकका गार्ड ४० वर्षीय सितल कुमालको विराटनगर न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
लुटपाटमा संलग्न हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।












