तनहुँ कालिकालाई धार्मिक गन्तव्य बनाऊँ : मन्त्री दोबाटे विक
गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोवाटे विकले तनहुँ कालिका शहीद पार्कलाई धार्मिक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
दमौली, असोज २६ : गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोवाटे विकले तनहुँ कालिका शहीद पार्कलाई धार्मिक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
फूलपातीको अवसरमा तनहुँ कालिका शहीद पार्कले मंगलबार आयोजना गरेको कार्यक्रममा मन्त्री विकले व्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार गर्दै यस ठाउँलाई पनि धार्मिक पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । धार्मिक पर्यटनबाट समृद्धि सम्भव रहेको उल्लेख गर्दै मन्त्री विकले गण्डकी प्रदेश त्यस हिसाबले धनी रहेको चर्चा गरे ।
गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, जिसस प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललगायतले सबैको पहलमा यस ठाउँको विकास सम्भव रहेको उल्लेख गरे ।
उक्त ठाउँमा मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माण गरिएको छ । तीन करोड लागतमा निर्माण सम्पन्न भएको मन्दिरको गत वर्ष उद्घाटन गरिएको थियो । तीनतले र ५५ फिट उचाइको मन्दिरमा विभिन्न नामका देवीदेवताका आकृति भएको ६० वटा टुँडाल हालिएको छ भने नौ फिटको गजुर राखिएको छ ।
मन्दिर निर्माणका लागि चालु आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ५० लाख रुपैयाँ विनियोजन भएको थियो ।
पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारबाट एक किमि दूरीमा रहेको उक्त पार्कसम्म पुग्न पैदलमार्ग निर्माण गरिएको छ । सवारी साधनका लागि पक्की सडक बनाइनेछ ।
पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही पूर्वाधार निर्माण सम्पन्न भएका छन् । गुरुयोजनाअनुसारका थप पूर्वाधार निर्माण हुन बाँकी छन् । ३७ हेक्टर क्षेत्रफलमा काँडे तारबार, १० फिट चौडाइको एक किमी पक्की सिँढी निर्माण, दुईवटा वनभोज स्थल, एउटा कुरुवा घर, सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेका छन् । रिजर्भ ट्यांकी बनाएर खानेपानी व्यवस्थापन गरिएको छ ।












