संसद् अवरोधले अध्यादेश निष्क्रिय : मन्त्री रेग्मी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेकपा एमालेका कारण तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश निष्क्रिय बन्न पुगेको बताएकी छन् ।
काठमाडौं, असोज २६ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेकपा एमालेका कारण तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश निष्क्रिय बन्न पुगेको बताएकी छन् ।
मंगलबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रमुख प्रतिपक्षी दल एमालेले संसद् सञ्चालनमा अवरोध गरेका कारण हिंसा रोक्नका लागि ल्याइएको अध्यादेश निष्क्रिय बन्न पुगेको बताइन् ।
महिलालाई न्याय दिनका लागि सरकारले यो अध्यादेशलाई पुनः सक्रिय बनाउने उनको भनाइ थियो । उनले भनिन्, ‘अध्यादेश खारेज गरिएको होइन । निष्क्रिय भएको छ । संसद्को अवरोध हटेपछि यसलाई सक्रिय बनाउँछाँै ।’ हिंसामा परेका महिलालाई न्याय दिनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो ।
महिला तथा बाबालिकाका क्षेत्रमा काम गर्नका लागि आफूले यस मन्त्रालय रोजेको बताउँदै उनले भनिन्, ‘अहिलेको कानुनलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउँदै नयाँ कानुन बनाएर महिला, बालबालिका र ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्छौं ।’
मन्त्री रेग्मीले ज्येष्ठ नागरिक, अपांगता भएकाहरूलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान असहज भएको भन्दै घर–घरै सामाजिक सुरक्षा भत्ता पुर्याउने गरी सरकारले काम गर्ने बताइन् । उनले भनिन्, ‘हुनेखानेलाई त सहज होला निमुखाहरूलाई कठिन भएको छ ।’ सरकारले अब बालबालिकाको खोपलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ । उने भनिन्, ‘स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर बालबालिकाका लागि खोपको व्यवस्था हुँदैछ ।’ विद्यालय सञ्चालनका लागि शिक्षा मन्त्रालयसँग समन्वय गरिरहेको उनले बताइन् ।












