Kathmandu Press

शून्य समयमा सांसदका गुनासैगुनासो

काठमाडौं, साउन २२ : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद मोहन बानि....

शून्य समयमा सांसदका गुनासैगुनासो

काठमाडौं, साउन २२ : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद मोहन बानियाले जनप्रतिनिधिले सदनमा उठाएका आवाजको सम्बन्धित निकायबाट सुनुवाई नभएको भन्दै त्यसतर्फ सभामुखको गम्भीर ध्यानाकर्षण गराए। उनले विशेष र शून्य समयमा उठेका आवाजको सम्बन्धित निकायबाट जिम्मेवारीपूर्वक सुनुवाइ हुनुपर्ने भन्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन सभामुखसँग आग्रह गरे।

सांसद रंगमती शाहीले नागरिक विषादीयुक्त तरकारी तथा फलफूल खान बाध्य भइरहेको भन्दै नागरिकको स्वास्थ्यप्रति संवेदनशील हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। ‘विषादीयुक्त तरकारी खाएपछि विरामी भइन्छ भन्ने थाहा छ। प्रधानमन्त्रीज्यू तपाई विरामी भए हामीले उठाएको करबाट विदेशमा उपचार भइहाल्छ। हामी जनता विरामी भए सिटामोल खान पाउदैनौ। हामी जनता बाचेपछि नै तपाईको रेल र पानी जहाज चढौला। हामी नै बाचेनौ भने तपाईको रेल र पानी जहाज कस्ले चढ्ला? यो जनताको आवाज हो,’ उनले भनिन्।

सांसद बिमला नेपालीले लोकसेवा आयोगले नौ हजारभन्दा बढी पदका लागि आह्वान गरेको विज्ञापन संविधान र प्रचलित कानुन बमोजिम नभएको भन्दै संसदीय समितिले आयोगलाई नीतिगत निर्देशन गर्दा पनि सुनुवाई नभएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन। यसले जारी असन्तुष्ठीलाई मलजल पुगी अर्को द्वन्द्व निम्तने खतरा रहेको भन्दै उनले सरकार समानुपातिक समावेशीको विरोधी हो भनी प्रश्न गरिन्।

सांसद बृजेशकुमार गुप्ताले बाली लगाउने समयमा किसानले मलखाद नपाएको भन्दै भविश्यमा खेतीको समयमा मल अभाव हुन नदिन पूर्वतयारी गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।

त्यस्तै, सांसद भैरवबहादुर सिंहले बझाङको थलरा गाउँपालिकामा एक महिलाको बलात्कारपछि हत्या गर्ने प्रयास भएको भन्दै अपराधी पहिचान गरि कडा कारवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

सांसद महेश बस्नेतले सूर्य विनायकदेखि धुलिखेलसम्मको सडकखण्ड ६ लेनको बनाउने र कोटेश्वरमा सुरुङ मार्ग निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए।

कोटेश्वर–बनेपा–सिन्धुली नेपालकै मुख्य दोश्रो नाका भएको र दैनीक २० हजार सवारी साधन संचालन हुदै आएको भन्दै उनले कोटेश्वरमा सुरुङ मार्ग बनाउने भन्दै डिपिआरको प्रक्रिया अघि बढाएको भएपनि ढिलासुस्ती भईरहेको बताउदै तदारुकता देखाउन मन्त्रीको ध्यााकर्षण गराए।

सांसद यज्ञराज सुनुवारले ओखलढुंगाका अधिकांश स्थान सुख्खाग्रस्त भई स्थानीय आक्रान्त बनेको भन्दै स्थायी समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए।

त्यसैगरी सांसदहरु राजेन्द्रकुमार राई, रानी मण्डललगायतले बाढीपहिरो र डुबान प्रभावितका लागि राहत र पुनस्थापनाको उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति: १२:२० बजे, बुधबार, साउन २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्