Kathmandu Press

माइतीघर मण्डलमा विप्लवको सकेट बम

काठमाडौं, साउन २२ : राजधानीको केन्द्रस्थित माइतीघर मण्डलमा आज बिहानै सकेट बम भेटिएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सकेट ब....

माइतीघर मण्डलमा विप्लवको सकेट बम

काठमाडौं, साउन २२ : राजधानीको केन्द्रस्थित माइतीघर मण्डलमा आज बिहानै सकेट बम भेटिएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सकेट बम राखेको प्रहरीको अनुमान छ।

प्रहरीका अनुसार, माइतीघर मण्डलस्थित सेन्टर जेभियर्स कलेज अगाडि सकेट बम भेटिएको हो। सुरुआतमा त प्रहरी पनि अलमलमा रहेको थियो।

तर, नेपाली सेनाको टोली आएपछि सकेट बम भएको खुलेको हो। नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ।

विप्वलका कार्यकर्ताले बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ। यसमा थप अनुसन्धान भइरहेको रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए।

केही दिनयता राजधानीमा विप्लवका नेता कार्यकर्ताको उपस्थित बढेको छ। सोमबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बत्तिसपुतलीबाट विप्लवका केन्द्रीय सदस्यसहित तीन जना नेतालाई पक्राउ गरेको थियो।

प्रहरीले पक्राउ गरेका नेकपा केन्द्रीय सदस्य डम्बरबहादुर विक, वैकल्पिक सदस्य मकर गुरुङ र उमा गुरुङलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

उनीहरूलाई पक्राउ गरेको विरोधमा सकेट बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ। अन्य ठाउँमा पनि विप्लव कार्यकर्ताले प्रतिरोध गर्नसक्ने अनुमान गरेर प्रहरीले सुरक्षा सतर्कता बढाएको जनाएको छ।

प्रकाशित मिति: ११:५८ बजे, बुधबार, साउन २२, २०७६