Kathmandu Press

भाइरल ज्वरोले गाईघाट कारागारमा सबै कैदीबन्दी बिरामी

उदयपुर, साउन २२ : उदयपुरको गाईघाटस्थित जिल्ला कारागारका सबै कैदीबन्दी विरामी परेका छन्। केही दिनदेखि उनीहरूलाई सबैलाई भाइरल ज्वरोले च्यापेको जनाएको छ।....

भाइरल ज्वरोले गाईघाट कारागारमा सबै कैदीबन्दी बिरामी
काठमाडौं प्रेस

उदयपुर, साउन २२ : उदयपुरको गाईघाटस्थित जिल्ला कारागारका सबै कैदीबन्दी विरामी परेका छन्। केही दिनदेखि उनीहरूलाई सबैलाई भाइरल ज्वरोले च्यापेको जनाएको छ।

सुरुआतमा दुई–तीन जनामा सामान्य ज्वरो आएको थियो। तर, उनीहरू उपचार नगरेपछि अन्य कैदीबन्दीलाई पनि संक्रमण भएको जनाएको छ। जसले कारागारमा रहेका सबै कैदीबन्दी थला परेका छन्।

एक कैदीका अनुसार, सुरुआतमा सामान्य ज्वरो देखिएको थियो। काराकार प्रशासनलाई उपचारका लागि आग्रह गरेपनि वास्ता गरेको थिएन्। त्यसको एक साता नवित्दै सबै कैदीबन्दी थलाका परेका छन्। उनीहरूलाई ओछ्यानबाट यताउता जान पनि सकस भएको जनाएको छ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कालले अहिले सबै कैदीबन्दी बिरामी भएको बताए। ‘दुई–चार कैदीबन्दीलाई मात्र सामान्य ज्वरो आएको थियो। विस्तारै सम्पूर्ण कैदीबन्दी नै भाइरल ज्वरोबाट प्रभावित भएका छन्,’ प्रजिअ खड्काले भने।

यो कारागारमा एक सय ७३ कैदीबन्दी छन्। यसको क्षमता ५० जनाको मात्रै हो। कैदीबन्दीको संख्या अत्यधिक भएपछि प्रदुषण बढेको जनाएको छ। पिउने पानी प्रदुषित रहेका कारण कैदीबन्दी भाइरलबाट प्रभावित हुन पुगेको कारागार प्रशासनले जनाएको छ।

अहिले उनीहरूको कारागारमै उपचार भइरहेको प्रजिअ खड्काले बताए। जिल्ला अस्पतालबाट चिकित्सको टोली लगेर उपचार भइरहेको उनको भनाइ छ।

प्रकाशित मिति: १०:५३ बजे, बुधबार, साउन २२, २०७६