उपत्यकाबाट कति मानिस बाहिरिँदै छन् ?
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता एसपी सञ्जीव शर्मा दासका अनुसार, सामान्यतः दैनिक ६ हजार सवारीसाधनमार्फत ४० हजार यात्रु बाहिरिन्छन् ।
काठमाडौं, असोज २५ : असोज १० गतेदेखि २४ गतेसम्म उपत्यकाबाट ८२ हजार तीन सय १९ सवारी साधनमार्फत पाँच लाख सात हजार चार सय ४८ यात्रु बाहिरिएका छन् । त्यस्तै, ७९ हजार २९ वटा सवारीसाधनमार्फत चार लाख ५४ हजार आठ सय आठ यात्रु भित्रिएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता एसपी सञ्जीव शर्मा दासका अनुसार, सामान्यतः दैनिक ६ हजार सवारीसाधनमार्फत ४० हजार यात्रु बाहिरिन्छन् । त्यस्तैगरी, दैनिक ५ हजार ५ सय सवारी साधनबाट ३५ हजार यात्रु भित्रिने गर्छन् । ‘गत वर्ष दशैं तिहारको निषेधाज्ञा भएकाले कति मानिस बाहिरिए भन्ने थाहा छैन, त्यसैले कति जान्छन् अनुमान लगाउन सकिँदैन,’ उनले भने, ‘दशैंको तेस्रो दिनसम्म दुई–चार वर्ष अगाडिको जस्तो सडकमा चाप छैन ।’
रिजर्भ गरेर जाने यात्रुको संख्या यसपालि बढी छ । त्यसरी जानेको संख्याको भने प्रहरीले तथ्यांक राख्दैन । प्रवक्ता शर्मा दास भन्छन्, ‘साथी वा आफ्नो परिवार मिलेर साना गाडी रिजर्भ गर्ने अनि घर जाने प्रचलन यसपालि बढी देखिएको छ ।’
पछिल्लो दुई दिन अर्थात् २३ र २४ गते उपत्यकाबाट बाहिरिने केही बढेका छन् । २३ गते सात हजार तीन सय १९ सवारी साधनबाट ४६ हजार चार सय ४८ यात्रु बाहिरिएका छन् । त्यस्तै, सोही दिन सात हजार २९ सवारी साधनबाट ३३ हजार ८ सय ८ यात्रु भित्रिए । २४ गते ८ हजार सवारी साधनबाट ४९ हजार यात्रु बाहिरिएका छन् भने सात हजार सवारी साधनबाट ३४ हजार यात्रु भित्रिएका छन् ।
प्रवक्ता शर्मा दास बिस्तारै यात्रु बाहिरिने क्रम बढिरहेको र दसैँ बिदा सुरु भएपछि यो संख्या अझै बढ्ने बताउँछन् । ‘अहिलेसम्म सामान्य रूपमा बढिरहेको छ, फूलपातीको दिनदेखि बाहिरिने यात्रुको चाप बढ्छ,’ उनले भने, ‘यात्रुको सहजताका लागि हामीले चुस्त ट्राफिक व्यवस्थापन मिलाएका छौँ, बाहिरिने यात्रुका सहज व्यवस्थापनका लागि रात–दिन नभनी प्रहरी खटाइएका छौं ।’
प्रहरीले उपत्यकाका मुख्य चोकमा यात्रु सहायता कक्षा स्थापना गरी सेवा दिइरहेको छ । माइकिङ गरेर यात्रुलाई सचेत गराउने, सुरक्षित यात्राका लागि आग्रह प्रयास निरन्तर भइरहेको उनले बताए । ‘कोभिड–१९ का कारण उपत्यकामा विगतका वर्षमा भन्दा मानिस कम भएको पाइयो,’ उनले भने, ‘अग्रिम बुकिङ सवारी चाप निकै कम छ । तर, निजी सवारी–साधनको चाप भने बढ्दो छ ।’
८० हजारले मात्र अग्रिम बुकिङ
उपत्यकाबाट दशैंका लागि घर जान नयाँ बसपार्कमा असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । अग्रिम बुकिङ र दैनिक यात्रु यसपटक धेरै भीड नभएको नयाँ बसपार्कका प्रहरी इन्चार्ज सुमन न्यौपाने बताउँछन् । ‘निजी तथा सरकारी कार्यालय बन्द भइसकेको छैन । त्यसकारणले उपत्यका बाहिरनेको संख्या अहिले ह्वात्तै बढेको छैन,’ उनी भन्छन्, ‘फूलपातीको दिनदेखि मात्र बाहिरिनेको संख्या बढ्ने अनुमान गरिएको छ ।
उपत्यकाबाट बाहिरिनका लागि ८० हजारले मात्र अग्रिम बुकिङ टिकट लिएको इन्चार्ज न्यौपानेले बताए ।
प्रहरीमा खबर गर्न प्रधान कार्यालयको आग्रह
चाडबाडका मौका छोपी चोरी तथा आपराधिक घटना घटाउनसक्ने हुनाले त्यसको निगरानीका लागि र शान्तिसुरक्षा कायम गर्न ७७ वटै जिल्लामा विशेष सुरक्षा योजना बनाएर लागू गरेको प्रहरी प्रधान कार्यालयको भनाइ छ ।
प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले साता पोसाकमा समेत प्रहरी परिचालन गरेर ठगी, कालोबजारी, चोरी आपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरी खटाइएको जानकारी दिएका छन् । ‘चाडबाडका बेला आफैँ पनि सावधान हुन र केही समस्या परेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले सबैमा अनुरोध गरेको छ,’ वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले भने ।
‘देशभर साढे तीन लाख सार्वजनिक यातायात सञ्चालन हुन्छ’
दशैँको ६ दिनसम्म नियमित सञ्चालन हुने सार्वजनिक यातायात सञ्चालन गरिन्छ । फूलपातीको दिनदेखि मात्र सार्वजनिक यातायात दैनिक गुड्ने भन्दा थप हुने सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपाल बताउँछन् । ‘देशभर साढे तीन लाख सार्वजनिक यातायात सञ्चालन हुन्छ,’ उनले भने, ‘गत वर्षको जस्तो धेरै यात्रु नभएको व्यवसायीको गुनासो छ ।’












-(86)-1764936079.jpg)