छुट्टाछुट्टै स्थानका सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं, असोज २५ : अछाम, स्याङजा, चितवन, बारा र धनुषाको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ।
अछाम, पञ्चदेवल विनायक नगरपालिका–१ जाल्पेश्वरी माध्यमिक विद्यालयको प्रांगगणमा ब्याक गर्ने क्रममा से१च १७६३ नम्बरको विवाहको गाडी करिब २ सय ५० मिटर तल खेतमा खसेर आइतबार राति दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा जिपमा सवार सोही नगरपालिका–२ बस्नेहरु १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा, १७ वर्षीय हिमाल नेपाली र सोही नगरपालिका–३ बस्ने १८ वर्षीय जीवन जैसी रहेका छन्।
उनीहरुमध्ये जिवनको घटनास्थलमै र अन्य ३ जनालाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अन्य १४ जनामध्ये ३ जनालाई थप उपचारको लागि नेपालगंजतर्फ रिफर गरिएको, २ जनाको बयलपाटा अस्पताल अछाममा र ९ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ। गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्याङजा, वालिङ नगरपालिका–१० मोदीखोलास्थित सडकमा ग१ज ४९१८ नम्बरको जिप सडकदेखि करिब ५० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा जिपमा सवार गल्याङ नगरपालिका–१० बस्ने ७७ वर्षीय दल बहादुर पल्ली सहित ३ जनाको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका दल बहादुर सहित २ जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा र एकजनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका १५ जनामध्ये ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भन्ने अन्य १३ जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चितवनको भरतपुर महानगरपालिका–७ बिकास चोकमा बा१प १२८४ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने आठ वर्षीय मिलन भण्डरीको आइतबार दिउँसो मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि सरकारी अस्पताल भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै बसको ठक्करबाट घाइते भएका सोही ठाउँ बस्ने ४६ वर्षीया सुमी कुमारी लामिछानेको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाराको कलैया उपमहानगरपालिका–२३ सिसहनिया चोकमा ग७प ४६१९ नम्बरको मोटरसाइकलले पैदलयात्री महागढीमाई नगरपालिका–४ मल्हनी टोल बस्ने १६ वर्षीय सुनिल यादवलाई ठक्कर दिई आइतबार राति दुर्घटनामा हुँदा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२ उत्तर झिटकैया बस्ने १६ वर्षीय कृष्ण मण्डलको आइतबार राति मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका कृष्णको कलैया अस्पताल हुँधै न्युरो अस्पताल वीरगंजमा उपचारका क्रममा मृत्यु भएको हो। साथै घाइते भएका सुनिल र मोटरसाइकलमा सवार एकजनाको न्युरो अस्पताल वीरगन्जमा उपचार भइरहेको छ।
धनुषाको जनकपुर उपमहानगरपालिका–२४ सोनापारास्थित सडकमा ज२प ९९०६ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको मोटरसाइकलले आइतबार राति ठक्कर दिंदा ज२प ९९०६ नम्बरको मोटरसाइकलमा सवार महोत्तरी मठियानी नगरपालिका–४ बस्ने ४५ वर्षीया सगिना खातुनको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने १८ वर्षीय जगिर साह सोही अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने मोटरसाइकलको प्रहरीले खोजी गरिरहेको छ।
यी सबै दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












