Kathmandu Press

सूचना नदिने पद्मकन्या क्याम्पस प्रमुखलाई १५ हजार जरिवाना

सूचना नदिने पद्मकन्या क्याम्पस प्रमुखलाई १५ हजार जरिवाना

काठमाडौं, असोज २४ : राष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस, बागबजारका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० घर भइ हाल काठमाडौँ कपन बस्ने आदित्य दाहालले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो। दाहालले पद्मकन्या क्याम्पससँग २०७३/७४ देखि २०७५/७६ सम्मको आन्तरिक र महालेखा लेखापरीक्षकको अन्तिम लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपी माग गरेका थिए।

Hardik ivf

साथै, दाहालले उक्त क्याम्पसमा सूचना अधिकारी तोकिएको छ/छैन भने जानकारी माग्दै सूचना अधकारी तोकिएको भए नियुक्ति गर्ने निर्णयका साथै नियुक्ति पत्रको प्रमाणित प्रतिलिपीसमेत माग गरेका थिए। सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार उक्त क्याम्पससँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता दाहालले कानुनअनुसार राष्ट्रिय सूचना आयोगमा २०७७ पुस २३ गते सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गरेका हुन्।

पुनरावेदन दर्तापछि सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक भएको आदेशको पालना नगरी सूचना उपलब्ध नगराएकाले संविधान प्रदत्त नागरिक अधिकार र कानूनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगले १५ हजार जरिवाना हुने ठहर गरेको हो।

सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम अक्षरेपी १५ हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको आयोगका आयोगका सूचना अधिकारी विश्वबन्धु पोखरेलले बताए। 

पुनरावेदकले मागेको सूचनासमेत उपलब्ध नगराएको, आयोगबाट भएका आदेश र पत्राचारको समेत पटक–पटक उल्लङ्घन गरेको साथै, गैरजिम्मेवार चरित्र प्रदर्शन गरेकाले संविधान प्रदत्त नागरिकको मौलिक हकको प्रचलनका लागि दण्डित गर्नुपर्ने देखिएको आयोगको निर्णयमा उल्लेख छ। 

प्रकाशित मिति: १९:४२ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्