Kathmandu Press

जुम्लाका सांसदको गुनासो- श्री ३ महाराज ऊर्जामन्त्री पुन र कुलमानलाई भेट्न सकिएन!

काठमाडौं, साउन २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गजेन्द्रबहादुर महतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिक....

जुम्लाका सांसदको गुनासो- श्री ३ महाराज ऊर्जामन्त्री पुन र कुलमानलाई भेट्न सकिएन!

काठमाडौं, साउन २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गजेन्द्रबहादुर महतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद महतले कर्णालीको सदरमुकाम जुम्लामा २०३८ सालमा बनेको दुई सय किलोवाटको बत्ती बिग्रिएका कारण जिल्ला अन्धकारमा पर्दा पनि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै आक्रोश पोखे।

जिल्लाबासीको समस्याबारे जानकारी गराउन खोज्दा ऊर्जा मन्त्री पुन र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भेट नदिएको उनको गुनासो छ।

‘हामीले यति धेरै भेट्न कोशिश गर्‍यौं। हाम्रा श्री ३ महाराजलाई। हाम्रा श्री ३ महाराज भन्या को हो भने कुलमान घिसिङ। अनि अर्का श्री ३ महाराज हुनुहुन्छ ऊर्जामन्त्री वर्षमान पुन। उहाँहरुको फोन पनि उठ्दैन, भेटघाट गर्न पनि पाइँदैन,’ महतले भने।

उनले जुम्लाबासीको समस्यालाई पनि राष्ट्रिय समस्याको रुपमा बुझिदिन आग्रह गरे। ‘यी श्री ३ महाराजको फोन कसरी उठ्ने हो? यिनीहरुसँग भेट कसरी गर्ने हो? यिनीहरुसँग हाम्रो जिल्लाको समस्या कसरी राख्ने? के विद्युत् प्राधिकरण छैन यो नेपालमा? जुम्ला जिल्ला भन्ने छैन? जुम्ला जिल्लामा एक लाख मानिस बस्छन्।  मोबाइल चलाउन नपाएर कति गाह्रो  भइरहेको छ। जात्रा आयो, दशै तिहार आयो,’ उनले भने।

प्राधिकरणभित्रको कमिसनकाबारेमा आफूले सुनेका कुरा नै सही रहेछ भन्ने लागेको भन्दै उनले भारत बेच्ने भनिएको बिजुली जुम्लालाई बेच्न आग्रह गरे। उनले,‘हामीले यति प्रगति गर्‍यौं भनेर यिनीहरु कुर्लिरहेका छन्। भारतलाई बत्ती बेच्दैछु भन्छन्। कृपया जुम्लालाई बेचिदिनोस् तपाईँहरु। त्यहाँ पनि जनता छन्। त्यहाँ पनि मोबाइल छ। त्यहाँ पनि पढ्ने विद्यार्थी छन्। त्यहा पनि बिरामी छन्। हाम्रा यी श्री ३ महाराजलाई म फेरि भन्न चाहन्छु। तपाईहरुले जुम्लाको समस्या हेरिदिनुपर्‍यो,’ उनले भने।

प्रकाशित मिति: १६:१६ बजे, मंगलबार, साउन २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्