उचित कारण नदेखाए कर्मचारीलाई अध्ययनका लागि विदेश जान दिइँदैनः मन्त्री पण्डित
काठमाडौं, साउन २१ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन विदा नदिने स्पष्ट पारेका छन्।....

काठमाडौं, साउन २१ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन विदा नदिने स्पष्ट पारेका छन्।
मन्त्री पण्डितले अध्ययन विदाका लागि बाहिर गएका कर्मचारीहरुले त्यहाँ गएर जागिर खाने गरेको पाइएको उल्लेख गर्दै उचित कारण पेश गरेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययन गर्न जान दिने बताएका हुन्।
मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले मन्त्रालयले उचित ठानेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययनका लागि विदा दिन सकिने बताए।
समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री पण्डितले आफू अघिल्लो पटक मन्त्री हुँदा अमेरिका अध्ययन गर्न गएका एक कर्मचारीले अध्ययन नगरेको पाइएपछि सेवाबाटै हटाएको पनि स्मरण गराएका थिए।
मन्त्री पण्डितले कर्मचारीहरुले कार्यालय समयमा निजी प्रयोजनका लागि कार्यालयको टेलिफोन प्रयोग गर्न नदिने अडान पनि बताए। कार्यालय समयमा निजी मामिलामा फोनको दुरुपयोग कर्मचारीहरुले गर्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने पनि मन्त्री पण्डितले बताए।

-1784896419.png)









