Kathmandu Press

प्रदीप गिरीले भने–संसदको अवरोध हटाएको विषयलाई राजनीतिक आरोप प्रत्यारोपको विषय नबनाऔं

काठमाडौं, साउन २१ : प्रमुख प्रतिपक्षी दल  नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले संसद अवरोध हटाउन भएको सहमतिलाई राजनीतिक आरोप प्रत्यारोपको वि....

प्रदीप गिरीले भने–संसदको अवरोध हटाएको विषयलाई राजनीतिक आरोप प्रत्यारोपको विषय नबनाऔं

काठमाडौं, साउन २१ : प्रमुख प्रतिपक्षी दल  नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले संसद अवरोध हटाउन भएको सहमतिलाई राजनीतिक आरोप प्रत्यारोपको विषय नबनाउन आग्रह गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद गिरीले सत्ता पक्ष र प्रतिपक्षी दल दुवैले संसदीय मर्यादा कायम गर्दै गरेको निर्णयलाई दलीय आधारमा व्याख्या र विश्लेषण नगर्न आग्रह गरेका हुन्।

संसदीय प्रणालीबारेमा फरक मत राख्ने र वर्ग सत्रुका रुपमा रहेका दुई पक्षको खतरनाक द्वन्द्वबाट निकास निकालेर प्रतिनिधिसभालाई स्वीकार गरेको स्मरण गराउँदै उनले असहमत हुनका लागि सहमति हुने थलोको रुपमा संसद रहेकाले त्यसको मर्यादा कायम गर्नु पर्ने बताए।

‘संसदको अवरोध हटाउने विषयमा भएको सहमतिबारे अहिले टिकाटिप्पणी हुँदैछन्।  प्रतिपक्ष हार्यो। प्रतिपक्षीले सम्झौता खोज्यो। होइन, सत्तापक्ष आत्तियो। सत्तापक्षले प्रतिपक्षको मान्यो जस्ता कुराहरु मैले सुनेको छु,’ उनले भने,‘ यसलाई राजनीतिक भनाभनको विषय नबनाउनुहोस्। प्रतिपक्षीले उच्चकोटीको सदासयता देखाएको छ। सरकारले पनि विनम्रता देखाएको छ।’

गिरीले संसदीय प्रणालीलाई गन्तव्य र सफलतामा पुर्‍याउने काम चुनौतीपूर्ण रहेको टिप्पणी गरे। उनले विद्यमान हिंसाको परम्परा, बेरोजगारी, आर्थिक क्रियाकलाप, भ्रष्टाचार लगायतले प्रणालीलाई नै असफल बनाउन हिडिरहेकाले प्रणालीलाई जिवित राख्न आरोप प्रत्यारोपमा नलागि परस्पर सम्मान गर्दै प्रणाली जोगाउनेतर्फ दृढ हुनुपर्नेमा जोड दिए। 
 

प्रकाशित मिति: १५:४५ बजे, मंगलबार, साउन २१, २०७६