Kathmandu Press

च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् !

बागलुङ, असोज २४ : हो, दसैँमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन। यसपालि त झन् च्याङ्ग्रा धेरैका लागि रहरमा मात्र सीमित हुनेवाला छ। बजारमा...
च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् !

बागलुङ, असोज २४ : हो, दसैँमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन। यसपालि त झन् च्याङ्ग्रा धेरैका लागि रहरमा मात्र सीमित हुनेवाला छ। बजारमा रोज्जा च्याङ्ग्रालाई ४० हजार रुपैयाँ पर्छ। पसलबाट मासु किनेर खाँदा प्रतिकिलो दुई हजार रुपैयाँ।

अब आफैँ भन्नुस्, आम मान्छेले कसरी खान सक्छन्, च्याङ्ग्राको मासु । यो त केबल हुनेखानेको भान्सामा मात्र पो पाक्ने भयो । के गरिब र श्रमजीवीले दसैँमा मिठोमसिनो खान नपाउनु ! यो प्रश्नले हर कोहीलाई बिझाएको हुनुपर्छ।

हिमालपारिबाट भित्रने च्याङ्ग्राको भाउ बर्सेनि बढेकै हुन्छ। पछिल्ला चार वर्षमा च्याङ्ग्राको मूल्य दोब्बरले महँगिएको व्यापारी बताउँछन्। कोभिड–१९ का कारण तिब्बतबाट च्याङ्ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले मूल्य आकासिँदै गएको हो।

Hardik ivf

व्यापारी महेन्द्र केसीले मुस्ताङको जोमसोम पुगेर दसैँलाई च्याङ्ग्रा ल्याएको बताए। भाउ महँगिएका कारण पहिले झैँ धेरै च्याङ्ग्रा नल्याएको उनले सुनाए। सदरमुकाममा मासु पसलसमेत चलाउँदै आएका केसीले एक किलो च्याङ्ग्रोको मासुलाई  एक हजार ८०० मा बेच्दै आएका छन्।

उनका अनुसार कतिपय पसलेले रु दुई हजारसम्ममा बेच्ने गरेका छन् । यसरी च्याङ्ग्राको भाउ छोइनसक्नु भएका बेला यहाँका कुखुरापालक किसानले दसैँमा स्वादिष्ट लोकल कुखुरा उपलब्ध गराएका छन् । भाउ पनि च्याङ्ग्राभन्दा सस्तो छ।

गलकोट नगरपालिका–६ मजुवाफाँटस्थित दरमखोला एग्रीकल्चर एण्ड लाइभस्टक फार्मका सञ्चालक छुमबहादुर थापाले ३०० लोकल कुखुरा बेच्नका लागि ठिक्क भएको बताए। साकिने, घाँटीखुइले, उल्टेलगायत लोकल जातका कुखुरा फार्ममा छन्।

‘एक किलाको ७५० रुपैयाँ मूल्य छ, चाडबाडमा कुखुराको बिक्री बढी हुन्छ,’ उनले भने, ‘दसैँमा बोका, च्याङ्ग्रा किन्न नसक्नेलाई लोकल कुखरा नै ठिक छ।’ स्वादिष्ट र स्वस्थकर हुने हुँदा लोकल कुखुराप्रति उपभोक्ताको रुचि छ।

लोकल जातका कुखुराको व्यावसायिकपालन पनि बढ्दो छ। बागलुङ नगरपालिका–४ रातमाटाका अगुवा किसान वैकुण्ठ सापकोटाका अनुसार जिल्लाभर ५० भन्दाबढी किसान लोकल जातका कुखुरापालनमा संलग्न छन्। पहिले ब्रोइलर, कोइलर जस्ता उन्नत प्रजातिका कुखुराको बजार अत्यधिक थियो।

‘दसैँमा च्याङ्ग्राको मासु महँगो भएर के भो र ? लोकल कुखुरा, खसीबोका छँदै छन् नी !,’ उनले भने, ‘ग्राहकलाई चाहिने जति कुखुरा दिन व्यवसायी तयार छन्।’ स्थानीय उत्पादनको प्रयोगले किसानलाई प्रोत्साहन मिल्नुका साथै आन्तरिक बजार चलायमान हुने उनको भनाइ छ। उनले सञ्चालन गरेको सापकोटा कृषि फार्ममा अहिले ५०० लोकल कुखुरा छन्। फार्ममा साकिनी, गुजुमुजे, उल्टे र घाँटीखुइले जातका कुखुराको व्यावसायिकपालन हुँदै आएको छ। 

कडकनाथ, बेन्टम, सिल्की र पोलिस जातको आयातित कुखुरा पनि पालिएको छ। यस्तै चरा प्रजातिका बट्टाइ र टर्की छन्। उपभोक्ताले इछ्याएको कुखुरा फार्मबाट किनेर लैजान सक्छन्। लोकल साकिने जातको भाले प्रतिकिलो रु ८०० मा बिक्री भइरहेको उनले बताए। आयातित कुखुराको भाउ भने चर्को छ।

लोकल जातको कुखुरा हुर्कन समय लाग्ने हुँदा पाँच÷छ महिनापछि मात्र बेच्न योग्य हुन्छ। खुला ठाउँमा चर्ने र गाउँकै दानापानी खाने भएकाले लोकल कुखुरा पौष्टिक र स्वादिष्ट हुन्छन्। ‘ब्रोइलर कुखुरालाई जस्तो नियमित भ्याक्सिन, औषधि दिनु पर्दैन,’ उनले भने, ‘बारी र पाखामा छोडेर हुर्काउने गरिन्छ।’

रातमाटामा सापकोटासँगै भविन्द्र विक, विजय शर्मालगायत लोकल जातका कुखुरापालनमा लागेका छन्। चौध वर्षसम्म मलेसियामा श्रम–पसिना बगाएर फर्किएका विक र विदेश जाने चक्करमा पटकपटक हण्डर खाएका उनले लोकल कुखुरामा आफ्नो भविष्य देखेका छन्। रासस
 

प्रकाशित मिति: ११:२१ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्