Kathmandu Press

छाब्दीलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाइने

छाब्दीलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाइने

दमौली, असोज २४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पवित्र तीर्थस्थल छाब्दीको विकासका लागि प्रतिबद्ध रहेको बताए। 

तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही विकास कोषले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले छाब्दीलाई नेपालकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने अभियानलाई प्रभावकारी बनाउन आग्रह गरे। 

उनले भने, ‘छाब्दीलाई जिल्लाको र गण्डकी प्रदेशको मात्र नभई देशकै प्रमुख धार्मिक गन्तव्य बनाउने अभियानमा म विगतदेखि नै लागेको छु, भविष्यमा पनि दत्तचित्त भएर लाग्नेछु।’ मन्त्री श्रेष्ठले छाब्दीको विकासका लागि रु ५० लाखदेखि रु एक करोडसम्मको बजेट विनियोजन गराउने आश्वासन दिए। 

फरक प्रसङ्गमा उहाँले बेरोजगार युवालाई रोजगारी दिनका लागि कार्ययोजना बनाएर अघि बढ्ने बताए। कार्यक्रममा छाब्दीवाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले छाब्दीको विकासका लागि गुरुयोजना बनाइएकाले सहयोगका लागि सरकारसँग आग्रह गरे ।
 

प्रकाशित मिति: १०:२७ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्