Kathmandu Press

खाल्डाखुल्डीले पृथ्वीराजमार्गमा दुर्घटनाको जोखिम

तनहुँ, असोज २४ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा खाल्डाखुल्डी पुर्न वर्षेनी करोडौ लगानी भएपनि राजमार्गको अवस्था भने सुधार आउन सकेको छैन।पृथ्वीराजमार्गका ७२ किलोमिटर...
खाल्डाखुल्डीले पृथ्वीराजमार्गमा दुर्घटनाको जोखिम

तनहुँ, असोज २४ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा खाल्डाखुल्डी पुर्न वर्षेनी करोडौ लगानी भएपनि राजमार्गको अवस्था भने सुधार आउन सकेको छैन।

पृथ्वीराजमार्गका ७२ किलोमिटर पर्ने तनहुँमा ठाउँ–ठाउँमा खाल्डाखुल्डीले गर्दा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती त छँदैछ दुर्घटनाको जोखिम पनि बढाएको छ। जिल्लाका कोत्रे, हलेदी, गाछेपानी, मालेबगर, थर्पु, गुणादी, घाँसीकुवा, छिर्कन, डुम्रे बजार क्षेत्रका सडकमा खाल्डाखुल्डीले राजमार्गमा सडक जाम समेत हुने गरेको छ।

ट्याक्सी चालक अमित श्रेष्ठले मुख्य राजमार्गकै अवस्थाका कारण सवारी चलाउन मुस्किल हुँदै आएको बताए। सडकको खाल्डाखुल्डीले निकै सास्ती हुने गरेको बताउँदै उनले बिरामी लिएर पोखराका अस्पताल पुग्न गाह्रो भएको बताए। पानी परेको बेला खाल्डामा पानी जम्ने र घाम लागेको बेला धुलो उड्ने समस्या पनि उत्तिकै रहेको उनले गुनासो गरे।

Hardik ivf

राजमार्गमा गाडी चलाउँदा असुरक्षित महशुस हुने गरेको चालक देव श्रेष्ठले बताए। 'राजमार्गको अवस्था हेर्दा यस्तो पनि सडक हुन्छ र भन्ने लाग्छ, ग्रामीण सडकको भन्दा पनि खत्तम छ,'  उनले भने, 'सम्ब्न्धित निकायको वेवास्ताका कारण जनताले दुःख पाउनुपरेको छ।'

पछिल्लो केही दिन यता भने सो राजमार्गका खाल्डा पुर्न थालिएको छ। गाछेपानी कोत्रे खण्डमा सडक डिभिजनले आफ्नै मेसिन प्रयोग गरेर सडकको खाल्डा पुरिरहेको कार्यालयका प्रमुख लक्ष्मी केसीले जानकारी दिए। पृथ्वीराजमार्ग सडक अहिले डिभिजनको क्षेत्राधिकारमा नपर्ने भएका कारण मर्मत गर्न नसकिएको उनले स्पष्ट पारे।

यो सडक आफ्नो क्षेत्राधिकारमा नपर्ने र मुग्लिङ–पोखरा चार लेन सडक आयोजनाको ठेकेदार फिल्डमा नआएकाले सडक डिभिजनको मेसिन र स्थानीय सामग्रीको प्रयोग गर्दै खाल्डा पुर्न थालेको उनले बताए। क्षेत्राधिकारमा नपर्ने भएकाले पृथ्वी राजमार्ग मर्मतका लागि कार्यालयसँग बजेट उपलब्ध नभएको उनले बताए।

राजमार्गको मुग्लिन पोखरा सडक एसियाली विकास बैङ्क (एडीबी) को सहुलियत ऋणमा चार लेनको बन्दै छ। चार लेन सडक बनाउनलाई दुई खण्डमा विभाजन गरेर ठेक्का प्रक्रियामा गइसकेको छ।

गत भदौ १३ गते सडक डिभिजनले मुग्लिङ–कोत्रे सडक खण्डको जिम्मेवारी मुग्लिङ–पोखरा सडक योजनालाई दिएको छ । चार लेन सडकको आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किमी र जामुने–पोखरा ४५ किमीको दुई प्याकेजमा ठेक्का लगाइएको हो।

५२ वर्षअघि रेखाङ्कन भएको देशकै प्रमुख पृथ्वी राजमार्ग तनहुँमा ७२ किमी पर्दछ। सडक मर्मतका लागि मात्रै गत आर्थिक वर्ष २०७७/७८ मा रु एक करोड १७ लाख ७४ हजार ३६ खर्च भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा रु पाँच करोड १८ लाख ४१ हजार एक सय ५५ खर्च भएको छ। (रासस)

प्रकाशित मिति: ०७:१९ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्