छात्रवृत्तिमा पढेका नर्स काममा फर्केनन्, हाजिर हुन सात दिनको म्याद
काठमाडौं, साउन २१ : छात्रवृत्तिमा चीन गएर अध्ययन गरेका नर्सहरू काममा फर्किएका छैनन्। स्वास्थ्य तथा जनसख्या मन्त्रालयले सात दिनभित्र कार्यक्षेत्रमा फर्....

काठमाडौं, साउन २१ : छात्रवृत्तिमा चीन गएर अध्ययन गरेका नर्सहरू काममा फर्किएका छैनन्। स्वास्थ्य तथा जनसख्या मन्त्रालयले सात दिनभित्र कार्यक्षेत्रमा फर्कन सूचना जारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३८ जना नर्सलाई ‘मास्टर्स इन एड्भान्स्ड नर्सिङ प्राक्टिस’का लागि चीन पठाएको थियो। चीनको सेन्ट्रल साउथ युनिभर्सिटीमा अध्ययन गरेका नर्सहरू नेपाल फर्के पनि काममा नफर्केको मन्त्रालयले जनाएको छ।
अध्ययनका लागि चीन गएका नर्सहरू फर्केपछि आ–आफ्नो दरबन्दी भएको स्थानमा हाजिर हुनुपर्ने थियो। तर, लामो समयसम्म उनीहरू आ–आफ्नो दरबन्दी भएको ठाउँमा हाजिर नभएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सूचना जारी गरी एक साताभित्र कार्यक्षेत्रमा फर्किन आह गरेको छ। तोकिएको समयभित्र काममा नफर्किए स्वास्थ्य सेवा ऐन २०५३ को दफा ३६ (३) बमोजिम कार्वाही गरिने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
स्वास्थ्य सेवा ऐन २०५३ को दफा ३६ (३) मा ‘कुनै पनि कर्मचारीले अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरी वा नगरी सेवा गर्न नआएमा वा दफा ३५ बमोजिम गर्नु पर्ने सेवा अवधि पूरा नगरेमा त्यस्तो कर्मचारीबाट अध्ययन, तालिम वा अध्ययन भ्रमण अवधिभर निजले पाएको तलब भत्ता तथा शिक्षण शुल्क र छात्रवृत्ति रकमसमेत असुल गरी निज उपर विभागीय कारबाही गरिनेछ’ भनिएको छ।

-1784896419.png)









