अवैध लागूऔषधसहित आठ जना पक्राउ
काठमाडौं, असोज २३ : देशको विभिन्न भेगबाट अवैध लागूऔषधसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। सर्लाही, मलंगवा नगरपालिका ५ भाडसरबाट करिब २ केजी ५...
काठमाडौं, असोज २३ : देशको विभिन्न भेगबाट अवैध लागूऔषधसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
सर्लाही, मलंगवा नगरपालिका ५ भाडसरबाट करिब २ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही नगरपालिकाका २४ वर्षीय प्रिन्स कुमार सिंह रहेका छन्। नेपालबाट भारततर्फ जाँदै गरेको डीएल ४ एसबिसी ३१०८ नम्बरको मोटरसाइकलमा सवार प्रिन्सलाई प्रहरी चौकी भाडसरबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
यसैगरी सर्लाही, लालबन्दी नगरपालिका १७ टिकुलियाबाट करिब ३५ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ। शुक्रबार दिउँसो प्रहरीले सोही ठाउँका संजय नायक र उनकी श्रीमती अमलेश देवी नायकको घरबाट लागूऔषध गाँजा बरामद गरेको हो।
आफ्नै घरमा लागूऔषध गाँजा लुकाई राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले घर तलासी गर्दा करिब १ केजी ३ सय ग्राम र नजिकैको खेतबाट करिब ३४ केजी २ सय ग्राम गाँजा बरामद गरेको हो।
हाल फरार रहेका संजय र अमलेश देवीको प्रहरीले खोजी गरिरहेको छ।
स्याङ्जा, पुतलीबजार नगरपालिका ४ नागडाँडाबाट नियन्त्रित लागूऔषध १ सय ८४ एम्पुल डाईजेपाम, १ सय ८४ एम्पुल फेनारगन र १ सय ८४ एम्पुल नुफिनसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा फेदीखोला गाउँपालिका २ का ३४ वर्षीय बिक्रम गुरुङ लगायत ३ जना रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र प्रहरी चौकी फेदीखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई शुक्रबार बेलुकी पक्राउ गरेको हो।
कपिलवस्तु, मायादेवी गाउँपालिका १ पकडिचोकबाट १५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थसहित एक जना पक्राउ परेका छन्। शुद्दोधन गाउँपालिका २ नन्दनगर का २५ वर्षीय नियाज अहमद मुसलमानलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।
युपी ५५ एसी ०२३५ नम्बरको मोटरसाइकलमा सवार नियाजलाई ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
बारा, जितपुरसिमरा उपमहानगरपालिका ७ जितपुरबाट नियन्त्रित लागूऔषध ६ सय एम्पुल डाईजेपाम, ६ सय एम्पुल नुफिन र ६ सय एम्पुल फेनारगनसहित २ जना पक्राउ परेका छन्। शुक्रबार बेलुकी प्रहरीले भारत मोतिहारी पूर्विचम्पारण बिहार बस्ने २९ वर्षीय मुना कुमार र ३५ वर्षीय मुनिला राउतलाई पक्राउ गरेको हो।
वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ ख ६३७७ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।
मोरङ, विराटनगर महानगरपालिका १५ स्थित सायरा होटलबाट नियन्त्रित लागूऔषध १५ बोतल डाईलेक्स डिसि, ४२ एम्पुल नाईट्राभेट, २४ एम्पुल स्पास्मो प्रोक्सिभोन, ३४ एम्पुल स्पास ट्र्यानकोन प्लस र २ सय ४० ग्राम अवैध लागूऔषध गाँजासहित होटल संचालकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जहदा गाउँपालिका ७ घर भएका २८ वर्षीय रमेश साह रहेका छन्। शनिबार बिहान प्रहरीले उक्त होटलमा लागूऔषधको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको जाँच गर्नेक्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
यसैगरी मोरङ, केराबारी गाउँपालिका ७ डागीबाट १.९ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार बिहान प्रहरीले सोही गाउँपालिका ६ का ३० वर्षीय बिशाल लिम्बुलाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।












