कोरोनाबाट ज्यान गुमाएका परिवारलाई स्थानीय सरकारको सहयोग
बनेपा, असोज २३ : काभ्रेको मण्डनदेउपुर नगरपालिकाले कोभिड–१९ बाट मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई नगद सहयोग प्रदान गरेको छ।नगरपालिकाले शुक्रबार सहयोग रकम वितरण...
बनेपा, असोज २३ : काभ्रेको मण्डनदेउपुर नगरपालिकाले कोभिड–१९ बाट मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई नगद सहयोग प्रदान गरेको छ।
नगरपालिकाले शुक्रबार सहयोग रकम वितरण कार्यक्रम आयोजना गरी मृतकका परिवारलाई ५० हजारका दरले सहयोग गरेको हो। नगरभित्रका १८ जनाको परिवारलाई नगद रकम सहयोग गरिएको छ।
नगरपालिका स्वास्थ्य शाखाका अधिकृत दीपक घिमिरेले नगरपालिकाभित्रका कोभिड–१९ को सङ्क्रमणका कारण उपचारको क्रममा मृत्यु भएकाको परिवारलाई सो रकम वितरण गरेको बताए। कोभिड–१९ को सङ्क्रमणबाट सङ्क्रमित भई जिल्लाभित्रैका अस्पताल तथा जिल्ला बाहिरका अस्पतालमा उपचारको क्रममा पहिलो लहरमा सङ्क्रमण भएर मृत्यु भएको चार र दोस्रो लहरको सङ्क्रमणमा परी मृत्यु भएका २२ गरी २६ जना नगरभित्रका बासिन्दाको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ।
जसमध्ये १८ जनाको परिवारलाई सहयोग रकम वितरण गरेको र वितरण गर्न बाँकीलाई पनि नाता प्रमाणित र वडा कार्यालयको सिफारिससहित आवश्यक कागजात पुर्याएर सम्पर्कमा आउनेलाई छिट्टै रकम वितरण गर्ने जनाइएको छ।
नगरपालिका प्रमुख टोकबहादुर वाइबाले कोभिड–१९ सङ्क्रमणको कारण मृत्यु भएकाको परिवारलाई नगरपालिकाको तर्फबाट सान्त्वनास्वरुप नगद सहयोग प्रदान गरेको बताए। नगरपालिकाको नवौँ नगरसभाले नै पारित गरेको निर्णयअनुसार शुक्रबार मृतक परिवारलाई रकम सहयोग वितरण गरेको प्रमुख वाइबाले बताए।
त्यस्तै सङ्क्रमण भएर भेन्टिलेटरमा उपचार गराएका विपन्न बिरामीलाई पनि २५ हजारका दरले रकम सहयोग गर्न लागिएको वाइबाले बताए।












