शैक्षिक सुधारको क्रमलाई निरन्तरता दिनेछु : शिक्षामन्त्री

काठमाडौं, असोज २२ : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राज्य प्रणालीको अवधारणलाई सफल तुल्याउन आवश्यक पर्ने शैक्षिक जनशक्ति उत्पादनमा नीतिगत सुधारका लागि प्राथमकिता दिने बताएका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीका क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री पौडेलले शिक्षामा भइरहेको सुधारलाई निरन्तरता दिँदै अरोरात्र खटेर आमूल परिवर्तन गर्ने जनाए। मन्त्री पौडेलले सोहीबमोजिम कार्य गर्न कर्मचारीलाई निर्देशन दिए। मन्त्री पौडेलले भने, ‘सरकारले पढ्दै, कमाउँदै भन्ने कार्यक्रम पनि ल्याएको छ। शिक्षालाई देश र जनताको हितमा उपयोग गर्न दातृ निकायसँगको समेत सहयोग लिएर रोजगारमूलक बनाउन नीतिगत पहल गर्न आवश्यक छ। त्यसमा म र मन्त्रालयका तर्फबाट काम हुनेछ। सङ्घीय शिक्षा निर्माणलगायत विद्यमान आवश्यकता र समस्याका लागि मेरो ध्यान जानेछ।’ मन्त्री पौडेललाई मन्त्रालयका सचिव रामप्रसाद थपलियालगायत उच्च कर्मचारीले स्वगत गरेका थिए।
मन्त्री पौडेलसँगै नवनियुक्त राज्यमन्त्री बोधमायाकुमारी यादवले पनि आज मन्त्रालयमा बहाली गरे।












