Kathmandu Press

गोल्छालाई अध्यक्ष हुनबाट रोक्ने गरी विधान संशोधन प्रस्ताव

काठमाडौं, साउन २० : नेपाल उद्योग वाणिज्य महासंघले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई भावी अध्यक्ष बन्नबाट रोक्ने गरी विधान संशोधन प्रस्ताव ल्याएको छ....

 गोल्छालाई अध्यक्ष हुनबाट रोक्ने गरी विधान संशोधन प्रस्ताव
फाइल

काठमाडौं, साउन २० : नेपाल उद्योग वाणिज्य महासंघले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई भावी अध्यक्ष बन्नबाट रोक्ने गरी विधान संशोधन प्रस्ताव ल्याएको छ।

महासंघको संशोधन समितिले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने हालको व्यवस्था हटाउने वा उक्त व्यवस्था एक–दुई कार्यकाल यथास्थानमा राख्ने विकल्पसहितको प्रस्ताव पठाएको हो। जसमा बहुमत सदस्य आगामी कार्यकालबाटै लागू गर्ने पक्षमा भएकाले वरिष्ठ उपाध्यक्ष गोल्छाले अध्यक्षका पुनः चुनाव लड्नु पर्नेगरी विधान संशोधनको प्रस्ताव ल्याइएको हो। 

महासंघले आगामी कात्तिकमा गर्ने विशेष साधारणसभामार्फत विधान संशोधनका लागि संशोधन समितिले प्रस्ताव ल्याएको हो। संशोधन समितिमा संयोजकको रुपमा पूर्वअध्यक्ष चन्डीराज ढकाल रहेका थिए। सोही समितिले सोमबार महासंघमा विवादकाबीच संशोधन प्रस्ताव महासंघलाई बुझाएको हो।

संशोधन प्रस्तावको विपक्षमा पूर्वअध्यक्ष पशुपति मुरारका थिए। तीन दिनदेखि जारी बैठकमा ढकाल र मुरारका पक्षबीच विवाद हुँदा निर्णय हुन सकेको थिएन।

तत्काल अध्यक्षको चुनाव हुन पनि सक्छ वा विधान संशोधनपछिको कार्यकाल वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेगरी एक–दुई कार्यकाल राख्न पनि सक्ने प्रस्ताव गरेको हो। प्रस्ताव केन्द्रिय कार्यसमितिले पास गरेपछि मात्रै विशेष साधारण सभामा पेश हुनेछ। 

समितिले विधान संशोधनका लागि ३५ वटा बुँदाको संशोधन प्रस्ताव विधान संशोधन समितिले कार्यसमितिलाई प्रस्ताव पठाएको हो। यसअघि ढकालै बलमा वर्तमान अध्यक्ष भवानी राणालाई स्वतः अध्यक्ष बनाइएको थियो।

पुनः यस पटक फेरि विधान संशोधन गर्न लागिएको हो। ‘यो विधान पास भए सिधा असर वरिष्ठ उपाध्यक्ष गोल्छामाथि पर्ने छ,’ महासंघका एक केन्द्रीय सदस्यले भने। विगतमा पूर्व अध्यक्षहरुको विरोधकाबीच विधान संशोधन गरिएको थियो। विगतको गल्ती सच्याउने कोशिस भएपनि एक जनालाई अध्यक्ष बनाउन बल गरेको जस्तो देखिएको समेत ती सदस्यको आरोप छ। 

समितिले प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्दा महासंघको गरिमा अभिवृद्धि हुने हुँदा अध्यक्षको निर्वाचन गर्न उपयुक्त देखिएको कारणसमेत उल्लेख गरेको छ।

विधानको हालको व्यवस्थाअनुसार दफा ३४ (२) (क) मा भएको व्यवस्थाअनुसार साधारणसभाले उपदफा ७.१ (क) र (ख) बमोजिमका सदस्यहरुमध्येबाट एक जना वरिष्ठ उपाध्यक्ष निर्वाचित गर्नेछ।

प्रकाशित मिति: १७:४९ बजे, सोमबार, साउन २०, २०७६