Kathmandu Press

थाइ एयर एसियाबारे छानविन गर्न पर्यटनले परराष्ट्र मन्त्रालयलाई गुहार्‍यो

काठमाडौं, साउन २० : थाइ एयर एसियाको एयर एसिया मलेसियासँगको सम्बन्धबारे छानविनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्....

थाइ एयर एसियाबारे छानविन गर्न पर्यटनले परराष्ट्र मन्त्रालयलाई गुहार्‍यो

काठमाडौं, साउन २० : थाइ एयर एसियाको एयर एसिया मलेसियासँगको सम्बन्धबारे छानविनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई गुहारेको छ।

पर्यटन मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर दुई देशका दुई एयरलाइन्सको सम्बन्धबारे छानविन गरी यथार्थ पत्ता लगाइदिन आग्रह गदैै पत्र पठाएको हो।

पर्यटनको पत्रसँगै अब परराष्ट्र मन्त्रालयले मलेसिया र थाइल्यान्ड सरकारलाई दुई एयरलाइन्स कम्पनी भगिनी संस्था हुन् वा होइनन् भन्ने विषयमा जानकारी गराउन आग्रहसहितको पत्र पठाउने छ।

नेपालमा ७ वर्ष उडान गरेर २० करोड रुपैयाँ भन्दा बढी बक्यौता नतिरेर फर्केको मलेसियाको एयर एसिया र नेपालमा उडान गर्नका लागि अनुमति मागेको थाइ एयर एसियाको सम्बन्धबारे सत्य तथ्य पत्ता लगाइदिन पर्यटन मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको हो।  

गत साता थाइ एयर एसियाले मलेसियाको एयर एसियासँग कुनै सम्बन्ध नरहेको पत्र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पठाएको थियो। 

तर, पर्यटन मन्त्रालयले एयरलाइन्सको पत्रलाई मात्रै आधार मान्न नसक्ने भन्दै दुवै मुलुकको सरकारी धारणाका लागि परराष्ट्रमार्फत जानकारी लिन खोजेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाइ महाशाखाका उपसचिव प्रमोद नेपालले जानकारी दिए। ‘दुई संस्था भगिनी हो भन्ने कुरा आएपछि प्राधिकरणकै आग्रहमा परराष्ट्रमार्फत पत्र पठाइएको हो,’ उपसचिव नेपालले भने। 

मन्त्रालय र प्राधिकरणले मलेसियाको एयर एसिया र थाइ एयर एसियाबीचको सम्बन्ध नखुलेसम्म नेपालमा उडान अनुमति दिन नसकिने जवाफ दिँदै आएका छन्।
थाइ एयर एसियाले पछिल्लो एक वर्षदेखि नै नेपालमा उडानका लागि माग गर्दै आएको छ। एयरलाइन्सले दैनिक एउटा उडानको माग समेत गरेको छ।

मलेसियाको एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १४ करोड र नेपाल पर्यटन बोर्डको ६ करोड सेवा शुल्कवापतको पैसा हस्तान्तरण नै नगरी नेपाल छोडेको थियो। नेपालमा थाइ एयर एसियाको जनरल सेल्स एजेन्टको जिम्मा विशाल गु्रपले पाएको छ। विशाल ग्रुपले थाइ एयर एसियालाई अनुमति दिलाउन जोडबल लगाउँदै आएको छ। 

मलेसियन एयर कम्पनी एयर एसियाले यात्रु अभाव देखाउँदै असोज २७ गतेबाट उडान बन्द गरेको हो। असोज २७ गते एयर एसियाको अन्तिम उडान रहेको समयमा विमानस्थल कार्यालयले जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया जान रोक लगाएको थियो। 

जहाज उडान गर्न नपाएपछि एयर एसियाले मलेसियाको दूतावासको सहयोगमा नेपालबाट जहाज लगेको थियो। दूतावासले विमानस्थल कार्यालयको बक्यौता रकम एयर एसियासँग असुलीका लागि पहल गरिदिने प्रतिबद्धता जनाएपनि हालसम्म असुली भएको छैन।

प्रकाशित मिति: १७:१७ बजे, सोमबार, साउन २०, २०७६