निर्देशन नटेरेको भन्दै सरकारसँग सरोकार समिति असन्तुष्ट
काठमाडौं, साउन २० : राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारले आफूले दिएको निर्देशन पालना नगरेको भन्दै असन्तुष्टि जनाएको....
काठमाडौं, साउन २० : राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारले आफूले दिएको निर्देशन पालना नगरेको भन्दै असन्तुष्टि जनाएको छ।
फाष्ट ट्रयाक, बूढीगण्डकी जलविद्युत आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीयबासीका समस्या छिटो समाधान गर्न दिएको निर्देशन सरकारले पालना नगरेको भन्दै समितिले असन्तुष्टि जनाएको हो।
समितिले सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले छिटो समाधान गर्न सरकारलाई निर्देशन दिएपछि सम्बन्धित मन्त्रालयले अटेरी गरिरहेका छन्।
आफ्नो वार्षिक प्रतिवेदन तयार पार्न जुटेको समितिले निर्देशन कार्यान्वयन हुन नसकेका विषयलाई प्राथमिकतामा राख्दै त्यसतर्फ सरकारलाई थप जिम्मेवार बनाउन प्रयास गर्ने समितिका सदस्य दिलकुमारी रावल थापाले जानकारी दिइन्।
वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरिरहेको समितिले सदस्यहरुको सुझावसहित एक साताभित्र अन्तिम टुंगो लगाएर राष्ट्रियसभामा पेश गर्ने तयारी गरेको छ।
समितिले तहगत राज्यसंरचनाको विकासमा समन्वय, राष्ट्रिय सम्पदा, मानवअधिकार तथा परराष्ट्र सम्बन्ध, सन्धि सम्झौताको कार्यान्वयनको अवस्था, पिछडिएको क्षेत्र, समुदाय, संस्कृति, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय सुरक्षा र संवैधानिक आयोग सम्बन्धी विषयहरु समितिको क्षेत्राधिकारभित्र पर्छन्।






