भैरहवालाई हराउँदै पोखरा इपिएलको फाइनलमा
काठमाडौं, असोज २१ : पोखरा राइनोज चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा प्रवेश गरेको छ।बिहीबार कीर्तिपुरस्थित टियु मैदानमा भएको दोस्रो क्वालिफायरमा...
काठमाडौं, असोज २१ : पोखरा राइनोज चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा प्रवेश गरेको छ।
बिहीबार कीर्तिपुरस्थित टियु मैदानमा भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्समाथि ७ विकेटको जित निकाल्दै पोखरा फाइनल पुगेको हो।
पहिला ब्याटिङ गर्दै भैरहवाले दिएको १२० रनको सामान्य लक्ष्य पोखराले १८.२ ओभरमा ३ विकेट गुमाउँदे भेट्टायो। पोखराको जितमा श्रीलंकन खेलाडी सहन अर्चिगेले अलराउन्ड प्रदर्शन गरे।
उनले ४४ बलमा ७ चौका प्रहार गर्दै ५३ रन बनए। यस्तै, विपिन रावलले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४० रन बनाउँदा रिचर्ड लेभीले १४ रन बनाए। भैरहवाका भुवत कार्कीले २ विकेट लिए।
यसअघि पहला ब्याटिङ गरेको भैरहवाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ११९ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान शरद भेषावकरले ३२, आसिफ सेखले २७ र रोहित कुमार पौडेलले १८ रन बनाए।
भैरहवाको इनिङ ध्वस्त बनाउने क्रममा अर्चिगेले ४ ओभरमा१५ रन खर्चेर २ विकेट लिए भने किशोर महतोले पनि २ विकेट लिए।
अब पोखराले उपाधिका लागि चितवन टाइगर्ससँग खेल्ने छ। चिवतन पोखरालाई नै हराउँदै फाइनल पुगेको हो। फाइनल शनिबार कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ।











