राजेन्द्र महतोको प्रश्न- नागरिकता खारेज को राजेन्द्र महतोको गरिएको हो जानकारी दिनु पर्यो?
काठमाडौं, साउन २० : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद राजेन्द्र महतोले सरकारले आफ्नाविरुद्ध भ्रम छर्ने काम गरेको भन्दै आपत्ति जनाएका छन्।
काठमाडौं, साउन २० : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद राजेन्द्र महतोले सरकारले आफ्नाविरुद्ध भ्रम छर्ने काम गरेको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले सरकारका प्रवक्ताले आफ्नो नाममा भ्रम फैलाउने काम गरेको आरोप लगाएका हुन्। सरकारका प्रवक्ताले राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता बदर गरिएको भनेर जानकारी गराएको र सोही अनुसार सञ्चारमाध्यमले पनि समाचार सम्प्रेषण गर्ने काम गरेको भन्दै महतोले राज्यले कसैको चरित्र हत्या गर्ने काम गर्न नमिल्ने तर्क गरे।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आइतबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता खारेज भएको जानकारी दिएका थिए। महतोले कुन राजेन्द्र महतो हो भन्ने सरकारले नखुलाएका कारण आफ्नो मान हानी भएको बताए।
‘भ्रमको खेती सुरु भएको छ। हिजो सरकारका प्रवक्ताले राजेन्द्र महतो लगायत ८ जनाको नेपाली नागरिकताको प्रमाणपत्र बदर गरिएको छ भनेर भन्नु भयो। कुन राजेन्द्र महतो हो? खोइ जानकारी दिनु पर्दैन ?’ उनले भने।
राष्ट्रियतासँग जोडिएको संवेदनशील विषयमा सरकारका प्रवक्ताले नेपाल सरकारको निर्णय सार्वजनिक गर्दा राजेन्द्र महतो को हुन् भन्नेबारे खुलाउनु पर्ने उनले बताए।
महतोले आफ्नो मानहानी भएकाले सरकारले माफी माग्नु पर्ने बताए।
बोल्ने क्रममा महतोले सभामुख र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम पनि लिएको भन्दै सत्तारुढ दलका सांसदहरुले नियमापत्ति जनाएपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावलिको दफा २१ को ख र ङ बमोजिम प्रतिकुल हुने गरी प्रयोग भएका शब्दहरु रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका थिए।
प्रतिनिधिसभाको अर्को बैठक मंगलबार अपरान्ह १ बजे बस्नेछ।






