बढी भाडा लिन मोलमोलाइ गर्ने नौजना नियन्त्रणमा
काठमाडौं, असोज २१ : उपत्यकाबाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने नौजना बिचौलियालाई काठमाडौंबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ। ट्राफिक प्रहरी महाशाखाले...
काठमाडौं, असोज २१ : उपत्यकाबाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने नौजना बिचौलियालाई काठमाडौंबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ। ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेसँगै यात्रुलाई परेका समस्या समाधान गर्दै आएको छ।
चाडपर्वको समय खासगरी दसैंमा उपत्यका बाहिरिने यात्रुहरुको चाप अत्यधिक हुने गर्दछ । यस्तो भिडभाडको मौका छोपी यात्रुहरुलाई ठगी गर्ने, बढी भाडा लिने, डबल टिकट काट्ने समूहलाई नियन्त्रण गर्न र सहज तथा सुरक्षित यात्राको व्यवस्था गर्न ट्राफिक प्रहरीले विशेष निगरानी एव अनुगमन गर्न टोली परिचालन गरेको हो।
ट्राफिक प्रहरीको सादा पोसाकमा खटिएको टोलीले उपत्यका बाहिरिने यात्रुहरुसँग बढी भाडा लिई टिकट काट्ने व्यक्तिहरुलाई निगरानी गर्ने, आफैं यात्रु बनेर भाडा मोलमोलाइ गर्ने, यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।
तोकिएको टिकट काउन्टरमा परिचयपत्र बाहकहरुले मात्र टिकट काट्ने व्यवस्था भए पनि अनधिकृत व्यक्तिहरुले बिचौलिया बनेर यात्रुसँग मोलमोलाइ गरी तोकिएको भन्दा बढी भाडा लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए।
विभिन्न टिकट काउन्टरमा आबद्ध भई बिनापरिचयपत्र बसपार्क आसपास यात्रुलाई टिकट काटिदिन्छु भनी मोलमोलाइ गर्ने भरतपुर चितवनका ३८ वर्षका समीर श्रेष्ठ, धनकुटाका ३० वर्षीय किरण लिम्बू र सुनसरीका २८ वर्षे सविन राई पक्राउ परेका हुन्।
त्यस्तै टिकट काउन्टर कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ गर्ने काठमाडौं बस्ने वर्ष ४६ का राज ठकुरी, दाङ घोराहीका २९ वर्षीय विशाल गुरुङ र कैलालीका २९ वर्षीय मेस कठायत गंगबुबाट पक्राउ परेका हुन्। उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ।
त्यसैगरी काठमाडौं कलंकीबाट वर्ष ३९ को नवीन केसी र बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई कीर्तिपुर बस्ने नारायणी काउन्टरका वर्ष ३७ को विनोद रानालाई समेत पक्राउ गरी कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ।











