विद्यालय कर्मचारीलाई तलब : कतै खुसी, कतै दुःखी
बलेवा, असोज २१ : सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताको मासिक तलब वृद्धि गर्ने घोषणा गर्याे। तर, बागलुङका...
बलेवा, असोज २१ : सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताको मासिक तलब वृद्धि गर्ने घोषणा गर्याे। तर, बागलुङका केही स्थानीय तहले अझै उक्त घोषणा कार्यान्वयन गर्न सकेका छैनन्।
सङ्घीय सरकार र स्थानीय सरकारको सझेदारीमा वृद्धि हुने भनिएको तलब केही स्थानीय तहमा भने वृद्धि हुन सकेको छैन। जिल्लाकै पुरानो नगरपालिका बागलुङ नगरपालिकाले बालविकास सहजकर्ताको मात्रै तोकिएअनुसारको तलब वृद्धि गरेको छ।
बालविकास सहजकर्ताको तलब मासिक ६ हजारबाट वृद्धिभएर १५ हजार पुर्याइएको छ। विद्यालय कर्मचारी र सहयोगीको तलब तोकिएबमोजिम वृद्धि नभएको नेपाल विद्यालय कर्मचारी परिषद् बागलुङका अध्यक्ष ललितबहादुर क्षेत्रीले बताए।
७ हजार मासिक तलब खाँदै आएका विद्यालय सहयोगीको तलब मासिक ८ हजार पुगेको छ। यो शिक्षा विभागले पठाउने ससर्त शीर्षकको तलब हो। ११ हजार ५ सय रुपैयाँ तलब लिँदै आएका विद्यालय कर्मचारीको तलब १३ हजार पाँच सय पुर्याइएको छ।
बजेटले सङ्घीय सरकारले पठाउने बजेटमा स्थानीय तहले साझेदारी गरेर तलब वृद्धि गर्न भनेको थियो। तर, १८ हजार ५०० पाउनुपर्ने विद्यालय कर्मचारीले १३ हजार ५ सय र १५ हजार पाउनुपर्ने विद्यालय सहयोगीले ८ हजार मात्रै पाउने भएका हुन्।
‘नगरसभाले बजेटको व्यवस्था गरेको रहेनछ, हामीले तोकिएबमोजिम दिन्छौं भनेर भएन, जे आउँछ त्यही दिने हो,’ बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले भने।
तोकिएबमोजिम तलब नपाएकोमा विद्यालय कर्मचारी र सहयोगी आक्रोशित छन्। ‘अरु के के गर्न बजेट हुन्छ, श्रमजीवीलाई दिने बजेट नहुने?’ तलब वृद्धिका लागि नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै क्षेत्रीले भने, ‘आन्दोलन हुन्छ, तोकिएबमोजिम तलब पाउनुपर्छ।’
जिल्लाको जैमिनी गरपालिकाले बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको तलब वृद्धि गरेको छ। तोकिए बमोजिम तलबमा कायम नभए पनि नगरले समेत साझेदारी गरेर तलब वृद्धि गरेको हो। तहअनुसार दुई हजारदेखि ७ हजार ५०० सम्म तलब खाँदै आएका विद्यालय सहयोगीको तलब १० हजार र १३ हजार ५ सय पुर्याइएको छ।
‘कक्षा १ देखि ३ सम्म चलेका विद्यालयका सहयोगीलाई १० हजार र बाँकी सबै सहयोगीलाई १३ हजार ५ सय कायम गरेका छौं,’ जैमिनी नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले भने, ‘बालविकास सहजकर्ताको १५ हजार र विद्यालय कर्मचारी सबैको १८ हजार ५ सय पुगेको छ।’ यसअघि सहजकर्ताले ६ हजार र विद्यालय कर्मचारीले ११ हजार ५ सय तलब लिँदै आएका थिए ।
काठेखोला गाउँपालिकाले पनि पालिकाको बजेटअनुसार तलब वृद्धि गरेको छ। बालविकास सहजकर्ताको तलब शतप्रतिशत वृद्धि गरेर १२ हजार पु¥याइएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताए। शिक्षा विभागले उपलब्ध गराउने ८ हजारमा गाउँपालिकाले चार हजार थप गरेको हो।
विद्यालय सहयोगीका लागि भने तहअनुसार नौ हजार, १२ हजार र १३ हजार पुर्याइएको छ। यसअघि उनीहरुले ४ हजार, ४ हजार ५ सय र ७ हजार ५ सय पाउँदै आएका थिए।
प्राथमिक, आधारभूत र माध्यमिक गरेर तीन तहमा कार्यरत विद्यालय सहयोगीले तहअनुसारको तलब वृद्धि गरिएको हो। विद्यालय कर्मचारीका लागि १७ हजार पुर्याइएको छ। ‘बजेटको स्रोत अनुसार वृद्धि भएको छ, एकै पटक ठूलो आर्थिक भार थेग्न पनि गाह्रो छ,’ उनले भने।
बरेङ गाउँपालिका, गलकोट नगरपालिका र बडिगाड गाउँपालिकाले पनि तलब वृद्धि गरेका छन्। अन्य स्थानीय तहले भने तलब वृद्धि भएको विषयमा जानकारी सार्वजनिक गरेका छैनन्।











