Kathmandu Press

स‌ंसद्काे अवराेध हटाउन विशेष समिति बनाउने सहमति

काठमाडौं, साउन २१ः  प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले लगातार अवरोध गर्दै आएको प्रतिनिधिसभा बैठक आजदेखि सुचारु....

स‌ंसद्काे अवराेध हटाउन विशेष समिति बनाउने सहमति
सभामुखकाे निजी सचिवालय

काठमाडौं, साउन २१ः  प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले लगातार अवरोध गर्दै आएको प्रतिनिधिसभा बैठक आजदेखि सुचारु हुने भएको छ ।

सभामुख कृष्णबहादुर महराले आयोजना गरेको सर्वदलीय बैठकमा संसदीय विशेष समिति बनाउने सहमतिपछि प्रतिनिधिसभाको बैठकमा कांग्रेस–राजपा अवराेध नगर्न सहमत भएका हुन् ।  अब केही बेरमै प्रतिनिधिसभा बैठक बस्नेछ । 

सभामुखको निजी सचिवालयले दिएको जानकारी अनुसार, बैठकमा आवश्यक अध्ययन गरी सुझाव दिन सात सदस्यीय विशेष समिति गठन गर्ने सहमति भएको हो । ‘प्रतिनिधिसभाको वर्तमान गतिरोध अन्त्य गरी संसदलाई प्रभावकारी बनाउने सहमति भयो’, सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए, ‘फेरि यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि संविधान, नियम र स्थापित परम्परा समितिमा रहने माननीयहरूको नाम सभामुखज्यूले बैठकबाट पढेर सुनाउनु हुनेछ ।’

सभामुख महरा र उपसभामुख शिवमाया तुम्बाहाम्फे उपस्थित बैठकमा समाजवादी पार्टीका संघीय अध्यक्ष पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा संसदीय दलका उपनेता पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, नेकपा प्रमुख सचेतक देव गुरुङ, कांग्रेस संसदीय दलका मुख्य सचेतक वालकृष्ण खाँडलगायत नेताहरू सहभागी छन् । 

राजपाले टीकापुरलगायत तराई–मधेस आन्दोलनका घटना आन्दोलनबारे अध्ययन गर्न गठित गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै गत अधिवेशनदेखि नै समय–समयमा संसद् अवरुद्ध गर्दै आएको थियो । यो अधिवेशनमा पनि उसले आवाज उठाएको थियो । कांग्रेसले पनि राजपालाई साथ दिएपछि संसद्को विरोध प्रभावकारी भएको हो ।

पछिल्लो पटक सर्लाहीको लालबन्दीमा हत्या गरिएका विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्जको हत्या घटनामा संसदीय छानबिन समिति गठन गर्नुपर्ने र सर्लाहीकै ईश्वरपुर नगरपालिका–१३ का सरोजनारायण सिंहको राजमार्ग खुलाउने क्रममा मृत्यु भएको घटनाको छानविन गर्न समिति गठन गर्नुपर्ने माग अघि सारेर कांग्रेस र राजपाले असार २४ देखिसंयुक्त रुपमा सदन अवरुद्ध पार्दै आएका छन् ।

दुवै दलका सांसद्हरूले कञ्चनपुरमा एक वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त हत्याकाण्डका दोषीमाथि कारबाही हुनुपर्ने, गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संसदीय सर्वोच्चता कायम गर्नुपर्ने, मानव अधिकारको हनन बन्द गर्नुपर्नेलगायत नारा संसद्भित्र वेलमा प्रवेश गरी लगाउँदै आएका छन् । 

नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको असार ५ गते प्रहरी कारबाहीमा मृत्यु भएको थियो । प्रतिपक्षले दोहोरो भिडन्त नभई प्रहरीले समातेर गोली हानेको भन्दै संसदीय छानबिन माग गरेको हो । 

त्यसैगरी नदीबाट अवैध तरिकाले ढुंगा, गिट्टी झिक्दा बनाइएको खाल्डोमा पुरिएर १२ वर्षीय बालक अमित रायको मृत्यु भएपछि स्थानीयले विरोधमा असार १५ गते राजमार्ग बन्द गरेका थिए । अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रहरीको गोली लागेर ईश्वरपुर नगरपालिका १३ का सरोजनारायण सिंहको मृत्यु भएको थियो ।

प्रकाशित मिति: १३:२४ बजे, सोमबार, साउन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्