Kathmandu Press

मनसुन पुनः सक्रिय, भारी वर्षाको सम्भावना

काठमाडौं, साउन २० : केही दिनदेखि कमजोर रहेको मनसुन आजदेखि पुनःसक्रिय भएको छ। मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतिर (नेपालतर्फ) सरेकाले ....

मनसुन पुनः सक्रिय, भारी वर्षाको सम्भावना

काठमाडौं, साउन २० : केही दिनदेखि कमजोर रहेको मनसुन आजदेखि पुनःसक्रिय भएको छ। मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतिर (नेपालतर्फ) सरेकाले भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाउको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले केही दिन भारी वर्षाको सम्भावना रहेको बताए। हाल देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै तराईका धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँमा १० मिलिमिटर वर्षा भएको छ भने पोखरामा ५४, दाङमा ३२, सिमरामा ६७, नेपालगञ्जमा २७, धनगडीमा ४२ र दिपालयमा २६ मिलिमिटर वर्षा मापन गरिएको छ।

आज राति देशभर सामान्य बदली रही देशको पश्चिमी भागका केही स्थानमा तथा मध्य र पूर्वका एक– दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।

भोलि देशभर सामान्य तथा  पूर्ण बदली हुनाका साथै मध्य र पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै बुधबार देशभर सामान्यदेखि पूर्ण बदली हुनाका साथै केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र  पूर्व र मध्य क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको  छ।  

यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदै देशको केही स्थानमा मेघगर्जन र चटयाङ पर्ने सम्भावना रहेको जनाएको छ। साथै पूर्व र पश्चिमी तराई तथा पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति: १२:१७ बजे, सोमबार, साउन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्