Kathmandu Press

मेलम्चीका बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि

सिन्धुपाल्चोक, असोज २० : मेलम्ची नगरपालिकाले विद्यालयमा कार्यरत बाल विकास शिक्षक, विद्यालय कर्मचारी (लेखापाल) र विद्यालय सहयोगीको तलबमानमा वृद्धि गर्ने भएको छ। शिक्षा समितिको हिजो...
मेलम्चीका बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि

सिन्धुपाल्चोक, असोज २० : मेलम्ची नगरपालिकाले विद्यालयमा कार्यरत बाल विकास शिक्षक, विद्यालय कर्मचारी (लेखापाल) र विद्यालय सहयोगीको तलबमानमा वृद्धि गर्ने भएको छ। 

शिक्षा समितिको हिजो बसेको बैठकले सो निर्णय गरेको हो। यसै वर्षदेखि लागू हुनेगरी विद्यालय, कर्मचारी, बाल विकास सहजकर्ता, विद्यालय सहायक कर्मचारीको तलबभत्ता निर्धारण गरिएको शिक्षा शाखाका अधिकृत सुधीनराज बुढाथोकीले जानकारी दिए। 

जसमा विद्यालय सहायक कर्मचारीका लागि सङ्घीय सरकारबाट प्राप्त १३ हजार ५००, नगरपालिकाबाट तीन हजार ५०० थप गरी मासिक पारिश्रमिक रु १७ हजार निर्धारण गरिएको हो। प्रारम्भिक बाल विकास सहजकर्ताका लागि आठ हजार र नगरपालिकाबाट सात हजार थप गरी रु १५ हजार निर्धारण गरिएको छ। 

Hardik ivf

त्यस्तै नगरपालिकाबाट नियुक्त गरिएका बाल विकास सहजकर्ताका लागि नगरपालिकाबाट १५ हजार मासिक तलबको निर्धारण गरिएको बुढाथोकीले जानकारी दिए। कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयका  सहयोगीलाई सङ्घीय सरकारबाट प्राप्त ६ हजार ५०० र नगरपालिकाबाट रु पाँच हजार ५०० थप गरी रु १२ हजार निर्धारण गरिएको छ। 

कक्षा १ देखि ८, १ देखि १० र १ देखि १२ सम्म सञ्चालनमा आएको विद्यालयका सहयोगीहरुलाई सङ्घीय सरकारबाट प्राप्त नौ हजार ५०० र नगरपालिकाबाट पाँच हजार थप गरी रु १४ हजार ५०० निर्धारण गरिएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिए।

बाढी प्रभावितलाई सहयोग

मेलम्ची बाढी प्रभावितलाई सहयोग गरिएको छ । मेलम्चीका युवा व्यवसायी रोमन कार्कीको पहलमा टिम ह्याप्पी फेमेली क्लबले मेलम्ची–६ नेपाने र मेलम्ची– ११ का बाढी प्रभावितलाई एक लाख सहयोग गरेको हो। 

नेपानेको १७ र मेलम्चीको ११ को एक परिवारलाई सहयोग गरिएको कार्कीले जानकारी दिए। घर भत्किएका तथा अन्य क्षतिका आधारमा पाँच तथा ६ हजारका दरले मङ्गलबार नगद हस्तान्तरण गरिएको कार्कीको भनाइ छ। त्यस्तै रेडियो मेलम्चीका लागि पनि रु १० हजार सहयोग प्राप्त भएको छ। सहयोगप्रति मेलम्ची–६ का स्थानीयवासी भीमसेन थापाले आभार प्रकट गरे । यसअघि पनि क्लब र कार्कीले विभिन्न सहयोग गर्दै आएका छन्।

यता इन्द्रेस्वरीमा बी बौद्धिक अपाङ्गता स्रोत कक्षाका २५ विद्यार्थीलाई जाडोको लुगा सेट र झोला वितरण गरिएको छ। अस्ट्रेलिया रहेका मेलम्ची–११ निवासी सुमन श्रेष्ठ र त्यहाँ रही अपाङ्गता क्षेत्रमा काम गर्नुहुने जेम्सको सहयोगमा प्राप्त २५ विद्यार्थीलाई ट्र्याक सुट र झोला मङ्गलबर इन्द्रेश्वरी माविका प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठले वितरण गरेका  थिए। साथै रेडियो मेलम्चीलाई पनि रु पाँच हजार  श्रेष्ठका दाइ सुदर्शन श्रेष्ठले हस्तान्तरण गरे। 

सहयोगी पूर्वविद्यार्थी श्रेष्ठ र जेम्सप्रति प्रधानाध्यापक श्रेष्ठले धन्यवाद ज्ञापन गरे। रासस
 

प्रकाशित मिति: १३:५९ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्