नम्बर प्लेट स्पष्ट नभएका २१९ मोटरसाइकल नियन्त्रणमा
काठमाडौं, असोज २० : महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। महाशाखाले चलाएको नम्बर प्लेटविरुद्धको कारबाही अभियानको...
काठमाडौं, असोज २० : महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। महाशाखाले चलाएको नम्बर प्लेटविरुद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाइकल पक्राउ गरेको हो।
ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थाई नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकलहरुविरुद्ध विशेष चेकजाँच अभियान संचालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।
‘विशेषगरि नयाँ अनटेस्ट र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिका मोटरसाइकलहरुले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेको छ,’ एसएसपी भट्टराईले भने ।
सम्पुर्ण सवारी धनीलाई त्यसमा पनि मोटरसाइकल धनीलाई आफ्नो सवारी साधनको नम्बर प्लेट स्पष्ट राख्न र सवारीको अवस्थासमेत सहि हालतमा राख्न महाशाखाले अनुरोध गरेको छ।
त्यस्ता तोकिएको ढाँचा बमोजिम नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले पाँचसय देखी पन्ध्रसय रूपैँयासम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाले जनाएको छ।












