टान पश्चिमाञ्चलद्वारा धवलागिरि हिमाल आरोही महिला सम्मानित
पोखरा, असोज २० : धवलागिरि हिमालका प्रथम आरोही महिला पूर्णिमा श्रेष्ठलाई मङ्गलबार पोखरामा ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) पोखराले सम्मान गरेको छ। नेपाली...
पोखरा, असोज २० : धवलागिरि हिमालका प्रथम आरोही महिला पूर्णिमा श्रेष्ठलाई मङ्गलबार पोखरामा ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) पोखराले सम्मान गरेको छ। नेपाली आरोही महिलाले आठ हजार १६७ मिटर अग्लो हिमाल आरोहण गरेर कीर्तिमान राख्न सफल भएको भन्दै उनीहरुलाई सम्मान गरिएको टान पश्चिमाञ्चलका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले जानकारी दिए।
उनले कोरोना महामारीमा सुस्ताइरहेको पर्यटनलाई उठाउन पर्वतीय पर्यटनको पनि महत्पूर्ण भूमिका हुने जनाउँदै पूर्णिमा र पासाङ ल्हामु शेर्पाले साहस तथा लगावले अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको शिर ठाडो गराउन सफल भएको धारणा राखे।
सम्मानित आरोही पूर्णिमाले आरोहण आफैँमा चुनौतीपूर्ण काम भए पनि आफूले आत्मविश्वास र साहसका साथ धवलागिरि हिमाल आरोहण गर्न सफल भएको बताइन्। कार्यक्रममा अर्की आरोही पासाङ ल्हामु अस्वस्थ भएका कारणले कार्यक्रममा उपस्थित हुन सकिनन्।
सेभेन समिट ट्रेकिङ कम्पनीबाट दुवै जना यही असोज २ गते आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्न सफल भएका थिए। फोटो पत्रकारसमेत रहेकी पूर्णिमाले यसअघि सन् २०१८ मा सगरमाथा, सन् २०१७ मा मनास्लु र २०१९ मा आमाडब्बलम तथा सन् २०२१ मा अन्नपूर्ण हिमालसँगै धवलागिरि हिमाल पनि आरोहण गर्न सफल भइन् ।
टान पश्चिमाञ्चलको सचिवालयमा संस्थाका पदाधिकारी र सदस्यको उपथितिमा आयोजित सम्मान कार्यक्रम सम्पन्न गरेको संस्थाका सचिव मिलन तिवारी जानकारी दिए।












