Kathmandu Press

बडादशैँमा भक्तपुरको तलेजुभित्र बलि पूजा नहुने

बडादशैँमा भक्तपुरको तलेजुभित्र बलि पूजा नहुने

काठमाडौं, असोज १९ : बडादशैँका अवसरमा भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरभित्र बलि पूजा नहुने भएको छ। नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवालाको बैठकले कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम पूर्णरूपमा नहटेको निष्कर्ष निकाल्दै तलेजुमा बलि पूजा नगर्ने निर्णय गरेको हो।

‘दशैँमा तलेजुमा पुजारीबाट आवश्यक पूजा मात्र गर्न दिने निर्णय गरेका छौँ,’ बैठकपछि नगरप्रमुख प्रजापतिले भने। दशैँलाई सुरक्षितरूपमा मनाउन शान्ति सुरक्षाको व्यवस्थापन चुनौतीपूर्ण हुने बताउँदै नगरप्रमुख प्रजापतिले पूजाआजा नरोक्ने, भीडभाड हुन नदिने, सामाजिक दूरी कायम गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने गरी मनाउन जनतालाई अह्वान गर्ने जानकारी दिए।

Hardik ivf

बैठकले घटस्थापनादेखि विजयादशमीको दिनसम्म नगरका विभिन्न शक्तिपीठलगायत धार्मिकस्थलमा हुने मेला, पूजा र नवरात्रमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भीडभाड नगर्न र सामाजिक दूरी कायम गरी कोभिड–१९ रोगको सङ्क्रमणबाट बच्न र बचाउन सम्पूर्ण नगरवासीलाई आह्वान गर्ने निर्णय भएको नगरप्रमुख प्रजापतिले बताए।

साथै उक्त बैठकले विजयादशमीको अवसरमा हुने सम्पूर्ण पूजाआजा, मेला, धार्मिक र सांस्कृतिक गतिविधि हुने सबै स्थानमा शान्ति, सुरक्षा र अन्य आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन, प्रहरी, वडा कार्यालय र स्थानीय टिम क्लबसँग सहकार्य गर्ने निर्णय गरेको छ।

बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चाडपर्वमा कोभिड फैलने जोखिम बढी भएको बताउँदै स्थानीय तह, प्रशासन, प्रहरी प्रशासन र विभिन्न सङ्घसंस्थाको संयुक्त प्रयासबाट दशैँ शान्तिपूर्ण र सुरक्षित बनाउनुपर्नेमा जोड दिए। बैठकमा महानगरीय प्रहरी परिसर, नेपाली सेना, सशस्त्र प्रहरी, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २१:१३ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्