Kathmandu Press

स्थानीय सरकारको पद सम्हाल्दै ६२ जना बालिका

स्थानीय सरकारको पद सम्हाल्दै ६२ जना बालिका

काठमाडाैं, असाेज १९ : देशभरका ६२ जना बालिका तथा किशोरीहरुले एक दिनका लागि स्थानीय सरकारको प्रमुख, वडा अध्यक्षलगायत विभिन्न पद सम्हाल्ने भएका छन्। अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपालले गैरसरकारी संस्था ‘हामी दाजुभाइ’ सँगको सहकार्यमा आज भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो। 

हरेक अक्टोबर ११ मा नेपालसहित विश्वभर मनाइने अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान नेपालले ७ जिल्लाको ३१ पालिकाहरुमा बालिका तथा किशोरीहरुलाई पदभार ग्रहण गराउने ‘गल्र्स टेक ओभर’ कार्यक्रम गराउन लागेको हो। 

यसवर्ष बालिका तथा किशोरीहरुको लागि अनलाइन सुरक्षासँग सम्बन्धित रहेर ‘डिजिटल जेनेरेसन, आवर जेनेरेसन’ भन्ने नारासहित गल्र्स टेक ओभर कार्यक्रम हुन लागेको हो। यो कार्यक्रमले बालिका तथा किशोरीमा आत्मविश्वास बढाउनुका साथै सम्बन्धित निकायलाई पनि अनलाइनको महत्व, जोखिम, सदुपयोगका बारेमा काम गर्न दबाब पुग्ने आयोजकको भनाइ छ।

Hardik ivf

आजदेखि शुरु भएर अक्टोबर ११ सम्म ‘गल्र्स टेक ओभर’ कार्यक्रम हुने प्लान इन्टरनेशनल नेपालका निर्देशक प्रसेन खातीले जानकारी दिए। उनले भने, ‘यो कार्यक्रमका लागि बालिका तथा किशोरीहरुलाई पाँच दिनको तालिम दिएर तयार पारेका छौँ, उहाँहरु त्यो भूमिकामा हुँदा नेतृत्वको भूमिका बारेमा अनुभव लिन्छन्, महत्व बुझ्छन् र आगामी दिनमा जनप्रतिनिधिसँग मिलेर काम गर्न उहाँहरुलाई अझ सहज हुनेछ।’

सुनसरी, सिन्धुली, बाँके, बर्दिया, जुम्ला, मकवानपुर र कालीकोट जिल्लाका ३१ स्थानीय तहको विभिन्न पदमा रहेर किशोरी तथा बालिकाहरुले पद ग्रहण गर्नेछन्। यसक्रममा उनीहरुले अनलाइनबाट बालिका तथा किशोरीहरुमा हुनसक्ने जोखिम, अनलाइनका फाइदा–बेफाइदा र सदुपयोगबारे छलफल गर्नेछन्। यसरी पद ग्रहण गर्नेहरुलाई प्लानले अभिमुखीकरण गरेको जानकारी पत्रकार सम्मेलनमा दिइयो।

शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षको जिम्मेवारी १८ वर्षीय सुमित्रा अछामीले सम्हाल्नेछिन्। ‘आज भएको भर्चुअल पत्रकार सम्मेलनमा उनले भनिन्, ‘अहिले तयारीमा छु। एक दिनको लागि वडाध्यक्ष भएर अनलाइनले किशोरी तथा बालिकामा पारेको प्रभावका विषयमा छलफल गरेर यसबारेमा संवेदनशील हुन सबै जनप्रतिनिधिलाई आग्रह गर्नेछु।’

बालिका, किशोरीको अनलाइन प्रयोग बारेको प्रतिवेदन सार्वजनिक 
 
आजै प्लान इन्टरनेशनल नेपालले बालिका र किशोरीको अनलाइन प्रयोग बारेको अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार किशोरी तथा बालिकाहरुले कोभिड १९, यौन तथा प्रजनन स्वास्थ्य जस्ता विषयमा जानकारी लिन अनलाइन प्रयोग गर्ने गरेको पाइएको छ। 

यो अध्ययन २६ देशका २६ हजारभन्दा बढी किशोरी र बालिकाहरुसँग गरिएको प्लानले जनाएको छ। अध्ययनमा सहभागी किशोरी, बालिका मध्ये ५५ प्रतिशतले ७ घन्टा अनलाइनमा बिताउने गरेको पाइएको छ। उनीहरुले विभिन्न सामाजिक सञ्जालबाट गलत र भ्रामक सूचना पाइने, नचिनेका व्यक्तिहरुले सामाजिक सञ्जालहरुमा रिक्वेस्ट पठाउने र कुरा गरेर तनाव दिने जस्ता कार्य हुँदा व्यक्तिगत जीवनमा प्रभाव परेको बताएका छन्। अध्ययन प्रतिवेदन अनुसार यस्ता गलत सूचना फेसबुकबाट ६५ प्रतिशत, टिकटकबाट २७ प्रतिशत, ह्वाट्स एपबाट २७ प्रतिशत र युट्युबबाट २७ प्रतिशत हुने गरेको प्रतिवेदनमा उल्लेख छ।

अनलाइन सुरक्षाका लागि डिजिटल साक्षरता सम्बन्धी शिक्षा आवश्यक रहेको भन्दै सरकारसँग डिजिटल सुरक्षाको माग पनि गरिएको छ।

प्रकाशित मिति: २०:३५ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्